म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् ।
बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट एक करोड ८० लाख भित्रिएको थियो । यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए । ‘गत वर्षको तुलनामा यसपालि बोटमा २५ प्रतिशत कम दाना लागेको छ,’ उनले भने, ‘बढी मूल्यमा सुन्तला बिक्री भएकाले गत गत वर्षकै हाराहारीमा आम्दानी भएको छ ।’ बढी मूल्य पार्न माघ महिना लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए ।
दोसल्लेको बगैचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ । अझै ४० प्रतिशत सुन्तला बोटमै छ ।
किसान र ब्यापारीहरूलाई सुन्तला टिपेर, ग्रेडीङ गर्ने र बजार पठाउने चटारो छ । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि याम सकिने समयमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका अगुवा किसान खगबिर पाइजाले बताए । ‘यसअघिका बर्षमा मंसिर–पुष महिनामा सुन्तला बिक्री गर्दा २० किलोको प्रतिक्रेट एक हजार सात सय मा बिक्री हुने गरेको थियो,’ उनले भने, ‘यसपालि प्रतिक्रेट दुई हजार पाँच सय मूल्यमा बिक्री भइरहेको छ ।’
अन्यत्रको सुन्तला सकिएकाले व्यापारिले प्रतिक्रेट तीन हजार दुई सय सम्म मूल्य तिर्न तयार भएका अर्का किसान बिकास श्रेष्ठले बताए । पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।
दोसल्लेका सबै घरले सुन्तला खेती गरेका छन् । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।
दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् ।
