मोरङको कानेपोखरीबाट क्रिश्चियन धर्म प्रचारमा संलग्न भएको आरोपमा पाँच अमेरिकीसहित १० जना पक्राउ

विराटनगर । पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचारमा संलग्न भएको आरोपमा पाँच अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा उनीहरूलाई मोरङबाट पक्राउ गरिएको हो ।

कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ ।

कार्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए । स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यस अघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा संचालन गर्दै आएका थिए ।

कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेको पाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिएको गृह मन्त्रालयले जनाएको छ । तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *