एजेन्सी । पोर्चुगिज क्लब बेन्फिका युईएफए च्याम्पियन्स लिगको प्लेअफमा पुगेको छ । बुधबार राति भएको लिगचरणको अन्तिम खेलमा ९ खेलाडीमा समेटिएको स्पेनिस महारथी रियल म्याड्रिडलाई ४-२ गोलले हराउँदै बेन्फिकाले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
लिस्बनमा भएको खेलमा बेन्फिकालाई जित दिलाउन एन्द्रेस स्च्जेल्डेरुपले दुई तथा भान्गेलिस पाभ्लिडिस र एन्टोली ट्रुबिनले समान एक/एक गोल गरे । म्याड्रिडको लागि किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको ३० औं मिनेटमा एसेन्सियोको क्रसमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
३६ औं मिनेटमा स्च्जेल्डेरुपले गोल गर्दै बेन्फिकालाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा भान्गेलिस पाभ्लिडिसले गोल गर्दै बेन्फिकालाई २-१ गोलको अग्रता दिलाए । ५४ औँ मिनेटमा स्च्जेल्डेरुपले व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा गुलेरको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई ३-२ गोलको स्थितिमा ल्याए ।
इन्जुरी समयको दोस्रो मिनेटमा राउल एसेन्सियो रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । पाँच मिनेटपछि रोद्रिगो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड ९ खेलाडीमा समेटिएको थियो । लगत्तै गोलरक्षक ट्रुबिनले हेडर गोल गर्दै बेन्फिकालाई ४-२ गोलको जित दिलाउँदै प्लेअफमा डोर्याएका हुन् ।
जितसँगै बेन्फिका ८ खेलबाट ९ अंक जोड्दै २४ औँ स्थानमा रहेर प्लेअफको लागि छनोट भएको छ भने पराजित म्याड्रिड समान खेलबाट १५ अंक जोड्दै नवौं स्थानमा झरेको छ ।
