काठमाडौँ । नवौँ अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली बादोरियो कराते टोली भोलि भारतको भिशाखापटनम प्रस्थान गर्ने भएको छ ।
जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापामगर, ४५ केजीमा रिजन बुढामगर र ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्नेछन् ।
महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा स्वेता तारा गुरुङ सहभागी हुनेछन् । अफिसियलमा नेपाल बादोरियो कराते डो सङ्घका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
