इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गरेका छन् ।
उद्घाटन समारोहमा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताए ।
उपमहानगरको शैक्षिक शाखा प्रमुख रमेश शाहले उपमहानगरभित्रका माध्यमिक तहका विद्यार्थी प्रतियोगितामा सहभागी हुने जानकारी दिए । उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पालिकास्तरीय र त्यसपछि उच्च तहको प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाई जम्प, लङ जम्पलगायतका विभिन्न खेल विधा समावेश गरिएको छ । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति छ ।
उपमहानगरले यस्ता प्रतियोगितामार्फत विद्यालयस्तरमा प्रतिभावान् खेलाडी पहिचान गरी उनीहरूको क्षमता विकास हुने जनाएको छ ।
