प्रज्जवल थापा । इङ्लिस क्लब टोटेन्हाम हट्सपरले युरोपा लिगमा सहज जित हात पारेको छ । बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा टोटेन्हामले वोल्फ्सबर्गरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
टोटेन्हामलाई जित दिलाउन ह्युङ मीन सन, गेरेथ बेल, लुकास मोउरा र कार्लोस भिनिसियसले समान एकरएक गोल गरे । १३ औं मिनेटमा गेरेथ बेलको पासमा सनले गोल गर्दै टोटेन्हामलाई खेलमा अगाडि बढाएका थिए । २८ औं मिनेटमा म्याट डोर्टीको पासमा गेरेथ बेलले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।
३४ औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटेन्हामलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । ५५ औं मिनेटमा माइकल लिएन्डले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई ३-१ गोलको स्थितीमा ल्याएका थिए ।
८८ औं मिनेटमा इरिक लमेलाको पासमा भिनिसियसले गोल गर्दै टोटेन्हामलाई ४-१ गोलको सहज जित दिलाए । जितसँगै टोटेन्हामले अन्तिम १६ पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबिच हुने दोस्रो लेग हट्सपर रंगशालामा फेब्रुअरी २४ मा हुनेछ ।
