पोखरामा ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबल सुरु

कास्की । पोखरामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिता आगामी माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको पहिलो दिन विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो  । न्यू डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज सुरुआत गर्यो ।

पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एसोसियसनलाई सोझो सेटमा हराउन सफल भयो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो । आजको अन्तिम तथा तेस्रो खेलमा एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई स्तब्ध पार्यो । पहिलो सेट २६–२४,दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो ।

तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपिएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । प्रतियोगिताअन्तर्गत शनिबार चार खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबीच हुने तालिका छ ।

यसैगरी पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबीच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल सङ्घबीच हुने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन टोलीले समान ६ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद ११ हजार ६६६ रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । अघिल्लो संस्करणमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *