कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिले सञ्चालन गरेको बस विपरीत दिशाबाट आएको ट्रकलाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरीसिंह महरासहित २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ४६ जना सवार रहेका थिए। घाइते नभएका २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।
दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन पुनः सुचारु भएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *