एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले फराकिलो जित निकाल्दा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मन(पीएसजी) पराजित भएका छन् । मंगलबार राति भएको खेलमा म्याड्रिडले मोनाकोलाई ६-१ गोलले पराजित गरेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई गोल गर्दा भिनिसियस जुनियर, जुड बेल्लिन्घाम र फ्रान्को मास्तान्टुनोले समान एक/एक गोल गरे । म्याड्रिडले एक गोल उपहार पाएको हो । मोनाकोको लागि जोर्डन टेजेले एक गोल गरे । खेलको पाँचौ मिनेटमा भाल्भेर्डेको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा भिनिसियसको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।
५१ औँ मिनेटमा भिनिसियसको पासमा मास्टान्टुनोले गोल गर्दै म्याड्रिडलाई फराकिलो जिततर्फ अगाडि बढाएका थिए । ५५ औँ मिनेटमा थिलो कह्रेरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि म्याड्रिडले खेलमा ४-० गोलको अग्रता लिएको थियो ।
६३ औँ मिनेटमा गुलेरको पासमा भिनिसियस आफैले गोल गर्दै म्याड्रिडलाई ५-० गोलको अग्रता दिलाएका थिए । ७२ औँ मिनेटमा टेजेले गोल गर्दै मोनाकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८० औँ मिनेटमा भाल्भेर्डेको पासमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई ६-१ गोलको फराकिलो जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड ७ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ९ अंक जोडेको मोनाको २० औँ स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा पीएसजी स्पोर्टिङ सिपीसँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज टोलीलाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गर्दा पीएसजीको लागि ख्विचा क्भारात्स्खेलियाले एक गोल फर्काए ।
जितसँगै ७ खेलबाट १३ अंक जोडेको स्पोर्टिङ छैटौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट १३ अंक जोडेको पिएसजी पाँचौ स्थानमा रहेको छ ।
अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी बोडोसँग ३-१ गोलले पराजित भएको हो । बोडोको लागि कास्पेर वार्ट्स होघले दुई गोल गर्दा जेन्स पिटर हगले एक गोल थपे । सिटीको लागि रायन चेर्कीले एक गोल फर्काए ।
जितसँगै बोडो ७ खेलबाट ६ अंक जोड्दै तालिकाको २७ औँ स्थानमा उक्लिदा समान खेलबाट १३ अंक जोडेको सिटी सातौँ स्थानमा रहेको छ ।
