-सुवोधराज प्याकुरेल
यो कुरा एमालेमा व्याप्त भक्ति मार्गका नायकहरुप्रति लक्षित छ । रणनीतिक परीक्षणका सिलसिलेवार आयाम हुन्छ । कुनैबेला नरेन्द्र मोदीका चुनावी रणनीतिकार रहेका प्रशान्तले अपनाएको सफल रणनीतिको अध्ययन गर्नुभएका व्यक्तिले सजिलै बुझ्नुहुनेछ। जनता के चाहन्छन् ? उनीहरुको चाहनाको मुख्य अवरोधक केलाई र कस्तालाई ठान्दछन् ? ठूला र असल कामको विपक्षमा साना तर मन छुने छिद्रहरु के के हुन् ? अन्तर्य होइन कि सतहको पहिचान गर्दै विकल्पको प्रस्ताव जस्केलाबाट सार्वजनिक गर्ने अनि त्यसको प्रतिकृयाको रौँचीरा विश्लेषण गर्ने विधि हो आम मानसिकता परीक्षणका लागि अपनाइने शोध प्रकृया ।
अहिले एउटा कुनाबाट दुन्दुभी बजाइएको छ, लौ बालेन साह झापा क्षेत्र नं ५ बाट केपी ओलीविरुद्ध निर्वाचनमा उठ्ने भनेर । त्यो सामाजिक प्रतिकृयाको परीक्षणका लागि र त्यस्तो प्रतिकृयालाई अन्यत्र समेत उपयोग गर्ने अभिप्रायले रचिएको अनुसन्धानात्मक रणनीति मात्र हो ।
अब, जति महत्वपूर्ण व्यक्तिहरुको जे जस्तो प्रतिकृया आउनेछ त्यसले सर्वसाधारणलाई पक्ष विपक्षमा धारणा बनाउन उद्वेलित गर्नेछ । अनि त्यस्तो प्रतिकृयामा जति बढी अहंकार प्रकट हुनेछ त्यसलाई त्यति नै बढी त्रासको रुपमा व्याख्या गरिनेछ । भक्तहरुलाई लाग्ला, ओहो ! मालिकविरुद्धको हरेक कदममा बढीचढी उग्रभक्ति प्रकट गर्नुपर्ने आफ्नो दायित्व हो । त्यस्तो होइन । कतिपय रणनीतिमा मौन–रणनीति सफल हुन्छ । विपक्षले वास्तै गरिदिएन भने, उनका समर्थकले हाँसोमा उडाइदिन्छन् । बालेनको रणनीतिमा यो पक्ष सबल ठहरिएको छ।
संवेदनशील घडीमा जनतालाई क्लिष्टतातर्फ, संकटतर्फ र अजङ्गको उलटपुलटको आशंकातर्फ लग्नु हुन्न । त्यस्तो गर्नुपर्ने खण्ड तबमात्र आउँछ जब आफैंले आमूल परिवर्तनको एजेण्डा राखिएको हुन्छ । जहाँ विचारको नेतृत्व स्थापित गर्नुपर्ने चुनौती हुन्छ । जस्तो व्यवस्था विरोधी आन्दोलनमा थियो । हुनत यस्ता कुरा भक्तहरुलाई चित्त बुझ्दैन । आफू मालिकको स्वास प्रश्वासमा देखिनुपर्छ भन्ठान्नेहरु यो कुरा बुझ्दै बुझ्दैनन्।
अब, मालिकले बुझ्नुपर्ने–अति भक्ति चौरस्य लक्षणम् हो । अनि स्वामीभक्त बाँदरले मालिकको नाकमा बसेको झिङ्गाको रीसले तरबार उज्याउँदा मालिकलाई नकटो बनाइदिएको कथा मान्यवरलाई थाहै होला । शुभ होस्।
