अमेरिकाले नेपालको प्रधानमन्त्री बनाउन बालेनलाई दश-पन्ध्र वर्ष अगाडि नै ऱ्याप सिकायो !

नारायण गाउँले 

अमेरिकाले नेपालको प्रधानमन्त्री बनाउन बालेनलाई दश-पन्ध्र वर्ष अगाडि नै ऱ्याप सिकायो !

-रूटिन अफ नेपाल बन्ददेखि एमआरआर ग्रुप तैयार गर्यो ! तिनमा नेपाली युवालाई जोडिन लगायो !

-रवि लामिछानेलाई अमेरिकाबाट नेपाल पठायो !

-उनलाई टिभीमा जागीर खोजिदियो र लोकप्रिय बनायो !

-कुलमान घिसिंगलाई लोडसेडिंग अन्त्य गर्न लगायो र जनताको आँखामा बसायो !

-सुशीला कार्कीलाई कानुन पढ़ायो र प्रधानन्यायाधीश बनायो !

-ओमप्रकाश अर्याललाई वकिल बनायो !

-सुदन गुरुङ्लाई अभियानकर्मी बनायो !

-बालेनलाई मेयरमा जितायो !

-मिचिएका सार्वजनिक सम्पत्ति खोज गर्न लगायो र लोकप्रिय बनायो !

-स्वर्णिम वाग्ले र मनीष झाहरूलाई कांग्रेसबाट रास्वपा पठायो !

-कांग्रेस-एमाले र माओवादीलाई घूस खाएर, भागबंडा गरेर देशका संवैधानिक संस्थालाई कमजोर बनाउन प्रेरित गर्दै अलोकप्रिय बनायो !

-म्याजिक नम्बर भन्दै तेस्रो भएर पनि सधै माओवादीलाई सरकार प्रमुख बनायो !

-कांग्रेस र एमालेलाई एकै ठाउँमा ल्याएर जनतालाई विद्रोही बनायो !

-मन्त्रीले घूस खाएको अडियो नै बाहिर आउँदा पनि ढाक छोप गर्न लगायो !

-एक्काइसौं शताब्दीको यो खुला युगमा सरकारलाई सोसल मिडिया बन्द गर्न उक्सायो !

-देशभरका युवालाई आन्दोलन गर्न मच्चायो र सुदनलाई पानी बाँड्न खटायो !

-आन्दोलन चर्को बनोस् भन्दै पछाडि बसेर एकै दिन सत्तरी जना युवालाई ढलायो !

-भोलिपल्ट देशभर आगो लगायो !

-हेलिकप्टर पठाएर भएका सबै नेतालाई भागाभाग बनायो !

-संविधान नफेर्ने भन्दै सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो !

-फागुनमा चुनाब गर्ने प्लान बनायो !

-रवि लामिछानेलाई धरौटीमा छुटायो !

-बालेन, कुलमान र रविलाई एकै ठाउँ पुऱ्यायो !

-देशविदेशका लाखौं नेपालीलाई गोजीमा पैसा हालिदिएर तिनको समर्थन गर्ने बनायो !

-देशका कलाकारदेखि व्यवसायीसम्म सबैलाई मिलियन-मिलियन डलर दिएर किन्यो !

-कांग्रेसलाई महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्न रोक्यो !

-२१ गते देशको ठूलो मतदातालाई नयाँ चिन्हमैं मत दिउँ दिउँ बनाउनेछ !

-त्यसपछि अमेरिकी सरकार बन्नेछ र नेपाल भन्ने देश कठपुतलीमा रूपान्तरण हुनेछ । नरहन पनि सक्छ !

तर यो सबै हुनुभन्दा अगाडि सच्चा देशभक्त, राष्ट्रवादी र स्वच्छ पार्टी कांग्रेस-एमाले र माओवादी एक हुनेछन्, दुई तिहाई बहुमत ल्याउनेछन् र अमेरिकालाई हिस्स बुढी खिस्स बनाउनेछन् ! नेपाल अमेरिकाको मुखबाट फिर्ता आउनेछ !
यस्तो भन्ने र पत्याउने विद्वान् पनि कम छैनन् हामीसँग ! घुमाई फिराई आफ्नो पार्टीलाई भोट दिनेबाहेक अरू सबै विदेशी दलाल हुन् र ती सबै देश बेच्न राजनीतिमा आएका हुन् भन्ने तर्क नै हाम्रो राष्ट्रवादको धुरी हो ! हिजो माओवादीका लागि कांग्रेस र एमाले गद्दार थिए । एमालेका लागि गिरिजा र प्रचण्ड गद्दार थिए । मोहन बैद्यका लागि सिङ्गो माओवादी गद्दार थियो । यसरी सिङ्गो जनसङ्ख्या नै गद्दार थियो । आज हिजोका गद्दार मिलेर नयाँ गद्दार खोज्दै छन् !
रोचक के छ भने यही गद्दारी र यसको व्याख्या नै नेपाली राजनीतिको सिद्धान्त हो ! अरू वैचारिक गुदी त्यसमा छैन । अरूलाई अक्षममात्रै भन्नुभो, भ्रष्टमात्रै भन्नुभो, गद्दार भन्न जान्नुभएन भने तपाईं सिद्धान्तविहीन हुनुभो ! दुई तीन वटा शक्तिराष्ट्रलाई गाली गर्न आउँदैन भने, दुई चारवटा षड्यन्त्र-सिद्धान्त निर्माण गर्न सक्नुहुन्न भने के सिद्धान्त, के राजनीति ?
तीनवटै दल मिल्दा पनि जितिन्न कि जस्तो भएको देख्नु छैन । आमजनताको आक्रोश र निराशा पढ्नु छैन, हामीबाट गल्तीकमजोरी भयो कि भन्ने आत्मालोचना गर्नु छैन । क्षमता र योग्यतामा प्रश्न र बहस गर्न सक्नुछैन । आफ्नै नागरिकको विवेक र छनोटलाई आदर गर्नु छैन ! गद्दार भन्यो, परिचालित भन्यो, गोटी भन्यो, गद्दारीजस्तो गम्भीर विषयलाई चियागफ बनायो र आफैलाई मसीहा भन्यो ! देशकै नागरिकलाई बिकाऊ भन्यो, अपमान गर्यो !

सधैँ त यस्तो कति बिक्ला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *