सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिका र नेपालबीच सम्झौता

काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । चार वर्षभन्दा बढी समयको सहकार्यपछि भएको सम्झौताले सांस्कृतिक वस्तुको अवैध ओसारपसार रोक्न र गैरकानुनी रूपमा बाहिर लगिएका पुरातात्त्विक सामग्री फिर्ता ल्याउन सशक्त आधार तयार गरेको छ।

सम्झौतामा बिहीबार अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरश  श्रेष्ठले हस्ताक्षर गरेका छन् । मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला तथा पुरातत्व विभागका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा हस्ताक्षर समारोह सम्पन्न भएको हो ।

सीपीएले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा, अवैध तस्करी नियन्त्रण र कानुन विपरीत हटाइएका सामग्री फिर्ता ल्याउने प्रक्रियालाई बलियो बनाउने जनाएको छ । सम्झौताअन्तर्गत प्रत्येक फिर्ता सामग्रीले इतिहास पुनःस्थापित गर्नुका साथै सम्बन्धित समुदायसँग परम्परालाई पुनःजोड्ने विश्वास लिइएको छ।

समारोहमा राजदूत थम्पसनले नेपालको सांस्कृतिक सम्पदाप्रति अमेरिकाको गहिरो सम्मान झल्किने बताउँदै सम्झौताले अवैध तस्करी रोकथाम, कानुनी सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन र भावी पुस्ताका लागि सम्पदा संरक्षणमा सहकार्य मजबुत बनाउने उल्लेख गरे ।

सम्झौताले अमेरिकामा अवैध आयातमा प्रतिबन्ध लगाउँदै सङ्कलन अभ्यासलाई प्रोत्साहन गर्नेछ। यसले अमेरिकी सङ्ग्रहालय, विश्वविद्यालय र सांस्कृतिक संस्थालाई जिम्मेवार संरक्षण र कानुनी आदान–प्रदानमा सहयोग पुर्याउनेछ। नेपालका लागि भने यसले सांस्कृतिक विरासतको संरक्षण, पुनःप्राप्ति र प्रवद्र्धनका लागि महत्वपूर्ण उपकरणका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

दुवै देशले साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने र नेपालको सम्पदाले भावी पुस्तालाई निरन्तर शिक्षा तथा प्रेरणा दिने सुनिश्चित गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *