काठमाडौँ । बिहीबारदेखि देशभरको मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो ।
आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार यो प्रणाली सक्रिय नभएकाले ठूलो हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै पर्याप्त मात्रमा जलवाष्युक्त बहनुपर्छ ।
हाल देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश-१, कार्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
