देशको स्वाधिनता बचाउने एउटै उपाय हो राष्ट्रिय सहमति

-ऋषि कट्टेल

आज देश गम्भीर राजनीतिक संकटवाट गुज्रिरहेको छ । निकासको सार्थक आधारहरु देखापरिरहेका छैनन् । संसदवादीहरु देश चलाउन असफल भैसकेका छन् । यिनको संविधान समाप्त भएको छ । भाद्र २४ पछि संसदवादीहरुका मुख्य शक्ति भनिएकाहरु मिल्किएका छन् । यिनको संसदनै विघटित भएको छ ।आन्दोलनको नाममा एउटा कठपुतली सरकार खडा भएको छ । ७९ पछि माओवादी केन्द्र, एमाले, रास्वपा, राप्रपासमेत मिलेको सरकार असफल भयो । काँग्रेस माओवादी केन्द्रको सरकार पनि असफल भयो र संसदका सवैभन्दा ठूला दल भनिएका काँग्रेस एमाले मिल्दा पनि सरकार चलाउन सकेनन् मात्र हैन निर्वाचित प्रधानमन्त्री भागेर ज्यान जोगाउनु पर्ने अवस्थामा पुग्यो ।

राजनीतिक शक्तिको यो अवस्था रह्यो भने राज्यको स्थायी निकाय सेना पुलिस कर्मचारीतन्त्र अदालत आदि सबै वेकम्मा सावित भए । यिनले जनताको सुरक्षा दिनसम्म पनि सकेनन् । यिनकै अगाडी देशका सम्पदाहरु मात्र जलेनन् नागरिकका निजी सम्पत्तिमाथि दिनदहाडै लुटपाट र आगजनी हुँदासमेत राज्यबाट हार गुहार पाउन सकेनन् । यतिमात्र हैन सुरक्षाको मुख्य निकाय सेना राज्यबाटभन्दा बाह्य प्रभावमा संचालित हुने अवस्थामा पुगेको आभास जनताले गरे । सारमा नागरिक राज्यविहीनताको अवस्थामा पुगे । एकातिर सत्ताको यस्तो अवस्था छ भने अर्कोतिर संसदवाद(सत्ता) विरुद्ध संघर्षरत शक्तिहरुले समेत हस्तक्षेपकारी आन्दोलन विकास गर्न सकिरहेका छैनन् । यसले गर्दा देश एकप्रकारले वेवारिसे अवस्थामा पुगेको छ ।

संसदवादी सत्तासिनहरु बीचको अन्तरविरोध शत्रुतापूर्ण बन्दै गइरहेको छ । कथित नयाँ पुरानाबीचको अन्तरविरोध अझै तीव्र बन्दैछ भने पुरानाहरुबीचको अन्तरविरोध पनि बढ्दैछ । एकले अर्कालाई सिध्याउने तहमै उनीहरु उत्रिरहेका देखिन्छन् । खासगरि ओली दाहाल बीच बढिरहेको अन्तरविरोध पनि साम्य हुने छाँट छैन । नयाँ भनिएकाहरु समेत अनेक रुपरङमा देखिएका छन् । यस्तोबेला कथित निर्वाचन वा संसदको पुनःस्थापनाको मुद्दामा नयाँ उल्झन देखापरिरहेको छ । निर्वाचन भएपनि देश समाल्न सक्ने तागत विकास हुने संभावना देखिँदैन भने संसद पुनःस्थापना पनि नयाँ भनिएकाहरुले स्वीकार्ने अवस्था छैन । यसरी देश निकासविहीन द्वन्द्व अर्थात् अँध्यारो सुरुङमा फस्ने खतरातर्फ उन्मुख छ ।

आन्तरिक अवस्था यस्तो चुनोतिपूर्ण रहेको बेला शक्तिकेन्द्रहरु आआफ्नो पकड बलियो बनाउन निर्लज्ताकासाथ लागेका छन् र सत्तासिनहरु इण्डो अमेरिकी कित्तामा उभिन प्रतिस्पर्धा गर्दैछन् । यसले देश अब इण्डो–अमेरिकी क्याम्पको विरुद्धको त्रिकोणत्मक शक्तिसंघर्षको द्वन्द्वमा फस्ने छ । यस्तो अवस्थाबाट देशलाई जोगाउन सकिएन भने देशको स्वाधिनता बच्ने छैन । यसको एउटै उपाय हो राष्ट्रिय सहमति । यो सहमति राष्ट्रिय राजनीतिक सम्मेलनबाट मात्र बनाउन सकिन्छ । वर्तमान संविधान वा व्यवस्थाको दायराबाट यो सहमति बन्नै सक्दैन । आउनुहोस् देशलाई निकास दिन नयाँ सहमति खोजौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *