पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको नयाँ मिति देशको राजनीतिक परिस्थितिको आङ्कलनपछि घोषणा गरिने गरिने बताएका छन् ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरामा आयोजना हुने ‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल’ प्रतियोगिताको जानकारी दिन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सिलवालले आगामी वर्ष मङ्सिर वा फागुनमा राष्ट्रिय खेलकूद आयोेजना गरिने जानकारी दिँदैै विसं २०७८ भित्रमा आयोजना गरिने स्पष्ट पारे ।
यस वर्ष फागुन अन्तिम साता तय गरिएको राष्ट्रिय खेलकूद कोरोनाका कारणबाट आयोजना हुन सक्ने अवस्था नरहेकाले सार्नु परेको भन्दै उनले राजनीतिक र खेलको स्थिति मध्यनजर गरेर मिति घोषणा गरिने जानकारी दिए ।
खेलकूद प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन तथा खेलाडी र प्रशिक्षकले आफ्नो प्रतिभा देखाउने अवस्था सिर्जना गरेर खेलको माहोल ल्याउन सक्नुपर्नेमा उनले जोड दिए ।
यसैबीच, कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा यही फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने ‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
पोखरा रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीम पराजुलीले प्रतियोगिताको तयारी पूरा भएको र मनाङबाहेक गण्डकीका १० जिल्लाबाट महिला तथा पुरुष दुवै टोलीले सहभागिता जनाउने छन् । मनाङबाट भने चिसोका कारणले खेलाडी उपलव्ध हुन नसकेका कारण टिम दर्ता नभएको बताइन्छ ।
भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने, उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने र आसन्न नवौँ राष्ट्रिय खेलकूदका लागि उत्कृष्ट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा कम्तीमा एक महिना राखी प्रदेशको उत्कृष्ट टोली तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ ।
‘लिग कप नकआउट’का आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेता महिला र पुरुष दुवै टोलीले समान दुई लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसैगरी तृतीय टोलीले ५० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद पाँच/पाँच हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेन्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले जनही पाँच हजारका दरले पुरस्कार पाउने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
