एनपीएलमा चितवनमाथि पोखराको जित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत भएको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । शनिबार बेलुकी सम्पन्न खेलमा चितवन राइनोजलाई आठ विकेटले हराउँदै पोखराले प्रतियोगितामा सुखद अन्त्य गरेको हो । दुवै टोली यसअघिनै प्रतियोगिताबाट बाहिरिएका थिए ।

जितको लागि १ सय २१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । पोखराको लागि एडम रोसिङटनले अर्धसतक बनाए । उनले ४८ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ६५ रन प्रहार गरे । उनले पहिलो विकेटको लागि अर्जुन कुमालसँग एक सय रनको साझेदारी गरेका हुन् । यस्तै अर्जुन कुमालले ४३, जेसन रोएले ६ र कप्तान कुशल भुर्तेलले ४ रन बनाए ।

चितवनको लागि सैफ जैब र रिजन ढकालले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । खेलमा खराब शुरूवात गरेको चितवनले २.१ ओभरमा ७ रन जोड्दा शीर्ष तीन ब्याट्सम्यानलाई गुमाएको थियो । मध्यक्रममा ब्याटिङ गर्न आएका देव खनालले ३५, अल्पेश राम्जानीले ३३, कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन बनाउँदै चितवनलाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् ।

पोखराको लागि धनन्जय लक्षनले तीन विकेट लिँदा विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान एक/एक विकेट लिए ।

जितसँगै पोखराले ७ खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । चितवन ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *