सुदूरपश्चिमलाई हराउँदै विराटनगर दोस्रो स्थानमा

काठमाडौं । साविक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा पहिलो हार बेहोरेको छ । शनिबार दिउँसो भएको खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर किंग्स दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले ११.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । विराटनगरलाई दोस्रो स्थानमा उक्लिन १३.५ ओभरमा जित निकाल्नु पर्ने थियो । तर विराटनगरले त्यसअघिनै लक्ष्य भेट्टाउँदै पहिलो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

विराटनगरलाई जित दिलाउन साम हेजलेट र फाफ डु प्लेसिसले अर्धसतक बनाए । हेजलेटले २७ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५१ रन बनाउँदा डु प्लेसिसले २० बलमा ५० रन बनाए । त्यसक्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै मार्टिन गुप्टिलले २२, प्रतिस जिसीले १३, बासिर अहमदले ८ र लोकेश बमले ३ रन बनाए । प्रतिस र लोकेश नटआउट रहे ।

सुदूरपश्चिमको लागि अविनाश बोहोराले दुई र हर्मित सिंहले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा विकेटको क्षतिमा १ सय रन बनाएको थियो । सुदूरपश्चिमको लागि आरिफ शेखले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ३ छक्का र एक चौका प्रहार गरे ।  यस्तै इशान पाण्डेले ३८,  जोश ब्राउनले २४, कप्तान दीपेन्द्र सिंह एरिले १९ र विनोद भण्डारीले १५ रनको योगदान गरे ।

विराटनगरको लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन दिएर तीन विकेट लिँदा प्रतिष जिसीले दुई र बासिर अहमदले एक विकेट लिए ।

जितसँगै विराटनगर ७ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिंदा समान खेलबाट १२ अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा यथावत रह्यो ।

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर तथा इलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्ने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *