काठमाडौँ । नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ नेपालभर प्रदर्शन भएको छ । तराईको पृष्ठभूमिमा तयार गरिएको उक्त चलचित्रमा सामाजिक संदेशसहित मनोरञ्जनात्मक कथा प्रस्तुत गरिएको निर्माता विनोद पौडेलले बताए ।
उनले भने, “हामीले एउटा सन्देशमूलक कथालाई चलचित्रको शैलीमा रोमाञ्चक बनाएर प्रस्तुत गरेका छौँ । यसले मनोरञ्जन र सन्देश दुवै दिन्छ भन्ने हाम्रो विश्वास छ । नियमित रूपमा बनिरहेका चलचित्रभन्दा फरक बनाउने कोसिस गरेका छौँ ।”
निर्माता पौडेलसहितका समूहले निर्माण गरेको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो । यो उनले निर्माण गरेको दोस्रो चलचित्र हो । अब्बल अभिनेताका रूपमा परिचित कामेश्वर चौरसियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि यहि चलचित्रमा मुख्य भूमिकामा दिएका छन् ।
“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भने ।
अभिनय यात्रामा पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेको अभिनेता चौरासियाले बताए । उक्त चलचित्रमा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका छन् ।
