ह्यान्डबल सङ्घको अध्यक्षमा तिमिल्सिना निर्वाचित

कास्की । पोखरामा सम्पन्न नेपाल ह्यान्डबल सङ्घको महाधिवेशनबाट सङ्घको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनले आगामी चार वर्षका लागि सुनसरीका तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ खेलकुद विकास ऐन जारी भएपछि सङ्घको पहिलो महाधिवेशन भएको हो । सङ्घको उपाध्यक्षत्रयमा मिठाराम अधिकारी, हिमालकुमार  श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए ।

यसैगरी महासचिवमा केशव पाठक, सचिवमा महेन्द्रबहादुर पुन र कोषाध्यक्षमा तस्विरा तामाङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत निर्वाचित भएका छन् । रिक्त पदाधिकारी तथा सदस्य पद पछि मनोनयन गरिने निर्वाचन समितिका संयोजक कमल अर्यालले जानकारी दिए ।

महाधिवेशनमा ४८ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । यसअघि पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समयअघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिवसमेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म सङ्घको नेतृत्व गरेका थिए ।

यसअघि महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताए । उद्घाटन सत्रमा अन्तरराष्ट्रिय ह्यान्डबल सङ्घका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *