काठमाडौं । स्पिनर शहाब आलमले ह्याट्रिकसहित छ विकेट लिएपछि काठमाडौं गोर्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत भएको खेलमा पाँचौ जित निकाल्दै प्लेअफमा पुगेको छ । बिहीबार दिउँसो भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टोली बनेको हो ।
जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ५२ रनमात्र बनाउन सक्यो । पोखराको लागि ऋषि धवनले अर्धसतक बनाए । उनले ३१ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ३० रन बनाउँदा धनन्जय लक्षनले ३०, कप्तान कुशल भुर्तेलले २२ र जेसन रोएले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
काठमाडौंको लागि शहाब आलमले ह्याट्रिक पूरा गरे । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । उनी एनपीएलको इतिहासमा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका छन् । उनले ४ ओभरमा २५ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै करण केसी र सन्नी पटेलको नाममा एक/एक विकेट रह्यो ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । काठमाडौंको लागि चार्ल्सवर्थ र भीमले अर्धसतक बनाए । चार्ल्सवर्थले ५५ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाउँदा भीमले विस्फोटक ब्याटिङ गर्दै ५५ रन बनाए । उनले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
पोखराको लागि धनन्जय लक्षनले ४ ओभरमा एक मेडन राख्दै १६ रन दिएर चार विकेट लिँदा कुशल भुर्तेलले दुई तथा विपिन खत्री र किरण ठगुन्नाले एक/एक विकेट लिए ।
जितसँगै काठमाडौं सात खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको पोखरा चार अंक जोड्दै पाँचौ स्थानमा रहेको छ ।
