बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउने सरकारको तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उनले ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसै विषयमा प्रधानमन्त्री कार्कीले बुधबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका केही पूर्वजनप्रनिधिहरू तथा स्थानीय सरोकारवालासँग छलफल गरिन् ।

त्यसक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परताप्रति खुसी व्यक्त गर्दै यसलाई केवल विद्युत् आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिए ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अन्य अधिकारीहरूको सहभागिता थियो ।

एक हजार २०० मेगावाटको यस जलविद्युत् आयोजनाको लागत २०७९ मा दुई खर्ब ५५ अर्ब अनुमान गरिएको थियो । अब यो लागत चार खर्ब नाघ्ने अनुमान छ ।

नेपाल सरकारले जग्गा अधिग्रहण गरी ४२ अर्ब स्थानीय जग्गाधनीलाई मुआब्जा दिइसकेको छ । काठमाडौँ, पोखरा र चितवन जस्ता ठूला सहरको बीचमा रहेको यो आयोजना निर्माण सम्पन्न गर्न कम्तीमा आठ वर्ष लाग्ने आंकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *