काठमाडौं । गत जेठमा प्रधानमन्त्री हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताए । उनले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताएका थिए । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको भन्दै नेकपा एमालेको झोले भएको बताएका थिए । ओलीको भनाई थियो, ’इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई । म कबुल गर्छु, झोले हो । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’
ओलीले यस्तो बताएको तीन दिनपछि नेकपा एमालेले सामाजिक सञ्जालमा ‘झोले’ अभियान नै चलायो । अभियानअन्तर्गत सुरुमा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखे । त्यसपछि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, उपाध्यक्ष विष्णु पौडेललगायत ओली पक्षीय एमाले नेताहरुले आफ्नो तस्बिरमा म झोले अभियान चलाए ।
कतिपय नेताले भने झोले अभियानको समर्थन गरेनन् । विराटनगरका पुराना एमाले नेता मीन आचार्यले सामाजिक सञ्जालमा लेखे, ‘म विचार बोक्ने र विचारलाई व्यवहारमा बदल्न सिकाउने अभियन्ता हुँ, झोले होइन ।’एमालेकै कतिपय नेताले ‘केवल चाकडी र चाप्लुसी गरी नेता खुसी तुल्याएर आफ्नो दुनो सोझ्याउने लगायतका लम्पटहरूलाई शब्दकोषमा भाषा शास्त्रले झोले भनेर अथ्र्याउँछ’ भन्दै आलोचना पनि गरे । एमालेको झोले अभियान सामाजिक संजालमा भने धेरै नै आलोचित बन्यो ।
झोले अभियानपछि एमालेले अर्को अभियान चलायो ‘धन्यवाद अभियान ।’ ओली गत भदौमा प्रधानमन्त्रीकारुपमा चीन भ्रमणमा गएका थिए । ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भारत र चीनबीच भएको लिपुलेक सम्झौताप्रति आपत्ति जनाएपछि नेकपा एमालेले धन्यवाद अभियान चलाएको हो । ओलीले राष्ट्रपति सीसँगको भेटमा लिपुलेक नेपालको भूभाग भएकाले त्यसलाई व्यापारिक मार्ग बनाउने गरी दुई छिमेकीले गरेको सहमतिप्रति आपत्ति जनाएका थिए । ओलीले लिपुलेक सम्झौताप्रति नेपालको स्पष्ट अडान राखेको भन्दै एमालेले सामाजिक संजालमा धन्यवाद अभियान चलाएको हो । ओलीले आफ्नो तस्बिरमा नेपाली झण्डा र नेपालको नक्सा राखेर सामाजिक संजालमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ..जय जय – नेपाल !’ पोष्ट गरेपछि एमाले नेताहरुले धन्यवाद अभियान चलाएका हुन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदैछ । महाधिवेशनमा ओली फेरि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् । पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले उम्मेदवारी घोषणा गरेपछि ओली पक्षले ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ चलाएको छ । पोखरेलले पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेसँगै ओली पक्षले ओलीलाई ब्रान्डिङ गर्ने अभियान थालेको हो । तर, पोखरेल पक्षले यसलाई पराजित मानसिकताको उपज भएको बताउन थालेको छ ।
‘म झोले हो’ अभियान सुरु गरेको एमाले ‘धन्यवाद अभियान’पछि जेनजी आन्दोलनबाट सत्ताबाट बहिर्गमन हुन पुगेको छ । अब ११ औं महाधिवेशनका लागि ओलीलाई नै जिताउन थालिएको ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ अभियानले चाहिँ कहाँ पुर्याउँछ ? त्यसका लागि भने महाधिवेशनसम्म कुर्नैपर्छ ।




