लगातार तेस्रो जित निकाल्दै सुदूरपश्चिम शीर्ष स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म लम्ब्याएको छ । सोमबार बेलुकी सम्पन्न खेलमा कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । कर्णालीको लागि पवन सर्राफले २७, मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ तथा गुलसन झा र अर्जुन घर्तीले समान १३/१३ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहोराले समान दुई/दुई विकेट लिँदा स्कट कुगेलेइन र हेमन्त धामीको नाममा एक/एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ३९ रन बनाउँदा आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुग्लेलेइनले १० रनको योगदान गरे ।

सुदूरपश्चिमको लागि सोमपाल कामीले चार ओभरमा एक मेडन राख्दै ३२ रन दिएर तीन विकेट लिँदा नन्दन यादवले दुई तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान एक/एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिम तीन खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिदा समान खेलबाट दुई अंक जोडेको कर्णाली छैटौं स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको हो । अब भोली मंगलबार हुने खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *