काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले विराटनगरलाई जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको हो । काठमाडौंको लागि मोहम्मद आदील अलामले सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा ४ चौका र दुई छक्का हिर्काए । यस्तै बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र जेर्हाड इरास्मसले १० रनको योगदान गरे ।
विराटनगरको लागि मर्चान्ट डे लान्गेले ४ ओभरमा १७ रन दिएर दुई विकेट लिँदा शुभम रान्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । अब विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।
