काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कारण सुरक्षा संयन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाराका एसपीको सरुवा त्यसैको उदाहरण भएको बताएका हुन् ।
उनले अब प्रहरी पनि जेनजी बनेर आइदिनुपर्ने ? भन्दै प्रश्न गरेका छन् । उनले यसलाई सरकारको तमासाको संज्ञा दिए । उनले भने, ‘के अब प्रहरी पनि जेनजी जेनजी बनेर आइदिनुपर्ने हो ? प्रहरीको एसपीले जेनजीलाई सघाएन भनेर तानियो । यो तमासा होइन ? त्यहाँ एयरपोर्ट बन्द गराउने नाटक गराउन कुनै जेनजी आएको थिएन । अरु नै खालका अराजक तत्वहरू आएका थिए । त्यसलाई सरकारले रोक्नुपर्ने ठाउँमा, भिडन्त गर्ने ठाउँमा एसपी आएन भनेर एसपी तानिन्छ ।’
उनले सरकारले जेनजी आन्दोलनको नाममा हुलदङ्गा रोक्नेतर्फ उदासीनता देखाएको आरोप लगाए । अध्यक्ष ओलीले सरकारले विभिन्न संवैधानिक तथा सुरक्षा निकायहरूलाई एमालेसँग जोडेर बदनाम गर्न खोजेको आरोप लगाए ।
उनले रेबिज लागेको जनावरले जता पनि पानी देख्छ भनेजस्तै सरकारले जताततै एमाले मात्र देख्न थालेको बताए । उनल भने, ’अब प्रहरीलाई पनि सरकारले एमाले देख्न थाल्यो । अब अदालत पनि एमाले लाग्छ, सेना पनि एमाले लाग्छ, सशस्त्र प्रहरी पनि, कर्मचारी पनि ।’
उनले प्रधानमन्त्री सुशीला कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ दिनुपर्ने बताएका छन् । उनले दुर्गा प्रसाईँले निकालेको क्यासेटबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले भने ‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ । प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनुपर्छ ।’
जेनजी आन्दोलनकै बेला हेलिकप्टर उडेको देखिएकै बेला उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति सुनिएको उनको भनाइ छ । उनले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताए । उनले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्याउने ठाउँनै छैन ।‘
