काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा लुम्बिनी लायन्सले विजयी शुरूवात गरेको छ । बिहीबार बेलुकी सम्पन्न खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै लुम्बिनीले प्रतियोगितामा सुखद शुरूवात गरेको हो ।
जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा १ सय ४६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । लुम्बिनीको लागि गुल्बादिन नैबले सर्वाधिक नटआउट ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९, सन्दीप जोराले २८, डार्सी शर्टले ११, दिलिप नाथले १० र जेजे स्मितले नटआउट ४ रनको योगदान गरे ।
चितवनको लागि रिजन ढकालले दुई र सोहिल तन्भिरले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । चितवनको लागि रवि बोपाराले अर्धसतक बनाए । उनले ५५ बलमा ४ चौका र तीन छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४ र दीपक बोहोराले १० रन बनाए ।
लुम्बिनीको लागि रुबिन ट्रम्पेलमनले ४ ओभरमा २३ रन दिएर तीन विकेट लिँदा अभिशेष गौतम र गुल्बादीन नैबले समान दुई/दुई विकेट लिए ।
जितसँगै लुम्बिनीले दुई अंक जोडेको छ । अब भोली पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुनेछ ।
