प्राविधिक शिक्षाः भए रोजगार नभए स्वरोजगार

दुर्गा देवकोटा, टीकापुर । प्राविधिक शिक्षा अध्ययन गरेमा छोराछोरीले सजिलै रोजगारी पाउने भएकाले अभिभावकले प्राविधिक शिक्षामा जोड दिन थालेका छन् । अभिभावक भए रोजगार पाइन्छ नभए आफैँले व्यवसाय तथा खेती गरेर स्वरोजगार बन्न सकिने भएकोले प्राविधिक शिक्षा नै उत्तम रहेको उनीहरुले बताउन थालेका छन् ।

छोराछोरीलाई भए रोजगार, केही नभए स्वरोजगार बनाउन सकिन्छ भन्दै अभिभावकको रोजाइमा प्राविधिक शिक्षा पर्दै गएको हो । छोरोछोरीलाई प्राविधिक शिक्षा पढाउन सके व्यवहारिक हुने भएकाले यस क्षेत्रका अभिभावक पछिल्लो समय छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन प्रेरित हुन थालेका हुन् ।

टीकापुर–१ बनगाँउका रिखीराम चौधरी अहिले तरकारीबाली लौका, फर्सी, काक्रा रोपिरहेका छन् । तरकारी लगाउनका लागि पहिले अन्यत्रबाट बेर्ना ल्याएर रोप्ने रिखीराम अहिले आफ्नै घरमा तरकारीका बेर्ना उत्पादन गरी रोपिरहेका हुन् । यतिमात्र नभई राम्रो उत्पादन लिन सफल हुँदै गएका छन् ।

आफ्नो खेतीपातीलाई व्यवस्थित बनाउन छोराछोरीले सघाउँदा उनी मख्ख छन् । रिखीरामकी छोरी टीकापुर पोलिटेक्निक इन्टिच्युटमा तीन वर्षे बाली विज्ञान सङ्कायमा अध्ययन थालेदेखि उनलाई खेतीपातीमा निकै सहज भएको छ ।

छोरीको सल्लाहमा खेतीलाई प्रविधिसँग जोडेर हेर्न पाउँदा छोरी पढाउँदाको फाइदा भइरहेको उनी बताउँछन् । “पहिले पढाउन मन थिएन । खर्च पनि धेरै लाग्ने होला सोँच्थे, छोरी मानिस खेतीपातीमा खेल्ने काम नपढाउजस्तो लागेको थियो”, रिखीरामले भने, “छोरी नियमित उत्तीर्ण भइरहेकी छिन् । त्योसँगै उनले सिकेको कुरा घरमा पनि प्रयोग गरिरहेकी छिन् । पढाइसँगै खेतीपाती पनि गर्न थालेकी छिन् ।” खेतीपाती गर्दा प्राविधिकसँग लिनुपर्ने सबै सल्लाह छोरीबाट पाइरहँदा उनी मख्ख छन् ।

“काम लाग्ने विषय पढ्नुपर्ने रहेछ भन्ने बुझेको छु । खेती किसानीका लागि अब मलाई कुनै समस्या रहेन”,उनले भने, “छोरी जागिरे नभए पनि कृषिमा भविष्य सुरक्षित छ भन्ने बुझेको छु ।”

टीकापुरका मदनराज न्यौपाने विगत १० वर्षदेखि टीकापुरमा लक्ष्मी दूधडेरी सञ्चालन गरिरहेका छन् । व्यावसायिकरुपमा दूध डेरी सञ्चालन गरिरहेका न्यौपानेले आफ्नो छोराछोरीलाई अहिले प्राविधिक शिक्षा पढाइरहेका छन् ।

आफ्नो पुख्र्यौली पेशा खेती किसानीसँगै दूध उत्पादन गर्नु भएकाले अब व्यावसायिकता दिने मनसायले टीकापुर पोलिटेक्निक इन्ष्टिच्युटमा छोराछोरीलाई पढाइ रहेको उनी बताउँछन् ।

“ डेरी सञ्चालनको लागि दूध उत्पादन अति आवश्यक छ । छोराछोरीलाई प्राविधिक शिक्षा दिएर आफ्नो व्यवसाय अभिवृद्धि गर्छु । छोरीलाई पशु विज्ञान र छोरालाई बाली विज्ञान पढाउँदै छु”, न्यौपानेले भने, “व्यवसायमा जोड दिने योजना बनाएको छु । छोरीको पढाइ सकिएपछि पशुपालनमा जोड दिने योजना बनाएको छु । अहिले दुवै अध्ययन गरिरहेका छन् ।”

सरकारले कृषि क्षेत्रमा सहयोग र अनुदान बढाएको अवस्थामा छोराछोरीलाई कृषि, पशुपालन क्षेत्रमै लगाउने योजना बनाएको उनको भनाइ छ । “प्राविधिक शिक्षामा पनि पशु र कृषि पढेमा आफ्नै जमीनमा श्रम गरेर भविष्य सुरक्षित गर्न सकिन्छ”, उनी भन्छन्, “अन्य विषय अध्ययन गरेमा स्वदेशमा रोजगार नपाएर विदेशिएका धेरै छोराछोरी देखेकाले नेपालमै भविष्य भएको विषय रोजेको हुँ ।”

प्राविधिक शिक्षालयमा सैद्धान्तिक विषयसँगै व्यावहारिक वा प्रयोगात्मक कक्षा हुने भएकाले पढाइ सहज भएको टीकापुरका जमानसिंह बटाला बताउँछन् ।

“मेरो छोरी पशु विज्ञान पढिरहेकी छिन् । उनले गोठ तथा बारीमा गरेको कामले पनि नतिजामा सघाउने रहेछ”, बटालाले भने “मैले पढ्न नसकेर वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुुलुकमा काम गर्दा दुःख भोगेको अुनभव छ । छोराछोरीलाई व्यावहारिक शिक्षा दिनुपर्ने बुझेर तीन जना छोराछोरीलाई कृषि र पशु विज्ञान शिक्षा पढाउन थालेको छु ।”

कैलालीको टीकापुर पोलिटेक्निक इन्ष्टिच्युट स्थापना भएपछि यहाँका अभिभावकलाई छोराछोरीलाई प्राविधिक शिक्षा अध्ययन गराउन सहज भएको छ ।

विसं २०६६ मा स्थापना भएको इन्स्टिच्युटले शैक्षिक सत्र २०७१/०७२ देखि प्राविधिकतर्फ बाली विज्ञान विषय अध्यापन शुरु गरेको हो । अहिले शिक्षालयमा डिप्लोमाइन एग्रीकल्चरअन्तर्गत प्लान्ट साइन्स, डिप्लोमा ईन भेटरेनरी साइन्स, डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन फरेष्ट्री पढाइ हुँदै आएको छ ।

यससँगै पछिल्ला दुई वर्षमा यस क्षेत्रमा प्राविधिक शिक्षा अध्यापन गराउने विद्यालय थपिएपछि थप सहज भएको छ । टीकापुरलाई कृषिको ‘हब’ बनाउने कार्यमा थप इँट्टा थपिएको छ ।

पोलिटेक्निकसँगै प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, टीकापुर बहुमुखी क्याम्पस, कर्णाली मावि टीकापुरले पनि यहाँ कृषि अध्ययन गर्ने रुची भएका विद्यार्थीलाई फाइदा पुर्याएका छन् ।

यसरी कृषि अध्ययन गराउने क्याम्पस स्थापना हुने क्रम बढेपछि यसक्षेत्रका अभिभावकलाई छोराछोरी घरमै बसेर रुचिको विषय अध्ययन गर्ने वातावरण मिलेको छ । प्राविधिक शिक्षालयमा अध्ययनसँगै हुने विभिन्न तालीमले पनि युवालाई स्वरोगार बन्न सहयोग पुगेको छ ।

शिक्षालयले ३९० घण्टे कक्षा, विभिन्न सीपमूलक तालीम दिने हुँदा प्राविधिक विषय पढ्न नपाएका तथा व्यावहारिक शिक्षा लिन चाहनेलाई स्वरोजगार बन्न सहयोग पुगेको अभिभावक रमेश ओली बताउँछन् ।

“विभिन्न सीपमूलक तालीम भइरहन्छन्, मैले मेरो छोरीलाई तालीममा पठाएको थिए, उनी अहिले काम गरिरहेकी छिन्”, ओलीले भने, “तालीम लिएर पनि धेरै युवायुवती स्वरोजगार भएका छन् ।” पोलिटेक्निकले ब्युटिसियन, सिलाइकटाइ, जेटिए, भेटरेनरी, प्लम्बिङलगायतका विषयमा तीन देखि छ महिने निःशुल्क तालीम सञ्चालन गर्दै आएको छ ।

जसले धेरै अभिभावकले बेरोजगार छोराछोरीलाई स्वरोजगार बनाउने अवसर पोलिटेक्निकले खडा गरेको छ । बनगाउँका चाउके थारुकी बुहारीले भेटरेनरी तालीमपछि टीकापुर बजारमा एग्रोभेट सञ्चालन गरेकी छन् ।

पोलिटेक्निक इन्ष्टिच्युटका शिक्षालय प्रमुख पारस खड्काले टीकापुरलाई कृषिको हबका रुपमा विकास गर्ने योजना रहेको बताए । “हामीले कृषि र पशुपालनलाई प्रोत्साहन गर्ने विषय अध्यापनमा बढी जोड दिने भएका छौँ”, खड्काले भने, “श्रम र मेहेनतको मूल्याङ्कन र बारीमै भविष्य सुरक्षित बनाउन अभिभावकले पनि कृषि रोज्न थालेका छन् ।”

यस क्षेत्रमा नमूनाका रुपमा स्थापित भएको पोलिटेक्निक इन्ष्टिच्युटको शैक्षिक तथा भौतिक विकासको लागि सङ्घीय सरकार मात्र नभई स्थानीय सरकारले पनि अभिभाकत्वको भूमिका निर्वाह गरिरहेको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

“शिक्षालयसँग समन्वय गरी हामीले ‘ल्याब’ स्थापनामा सघाएका छौँ । गरिव, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि ११ लाख बजेट विनियोजन गरेका छौँ”, नगर प्रमुख रावलले भने, “टीकापुरको विकास र समृद्धिको मार्ग र मेरुदण्डका रुपमा शिक्षालयलाई लिएका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *