बैतडी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसीए कपको २२ औँ संस्करणअन्तर्गत सोमबार भएको खेलमा ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ ।
ग्वाल्लेकले थालिगडा क्रिकेट क्लबमाथि ७ रनको जित दर्ता गर्यो । जितका लागि पाएको १०९ रनको लक्ष्य पछ्याएको थालिगडा १७ दशमलव १ ओभरमा १०१ रनमा अलआउट भयो ।
थालिगडाका कल्पेस चन्दले २३, मुकेश चन्दले २१ र नवीन ठगुन्नाले २० रनको योगदान गरे पनि हार टार्न सकेनन् । ग्वाल्लेकको तर्फबाट म्यान अफ द म्याच समेत भएका तर्कराज जोशीले पाँच र गङ्गादत्त जोशीले चार विकेट हात पारे । दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको ग्वाल्लेक १७ दशमलव ३ ओभरमा १०८ रनमा समेटियो ।
जसमा मनोज जोशीले सर्वाधिक २३ रन बनाए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।
म्यान अफ द सिरिजलाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
गत वर्ष सम्पन्न २१ औँ संस्करणको बिडिसीए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो ।
