एमालेमा वैकल्पिक नेतृत्वको लागि ईश्वर पोखरेल

-सुवोधराज प्याकुरेल ।

दृष्टिकोण शैली र संगत बिग्रिएर गरेको कामको यश समेत खौलामा बगाउने ढाँचाबाट एमाले मात्र होइन सारा देश पीडित भएको बेलामा तत्कालीन कोओर्डिनेशन केन्द्रदेखि माले हुँदै एमालेको निर्माण विस्तार र संगठन सञ्चालनमा अभूतपूर्व योगदान गर्नुभएका ईश्वर पोखरेलको आग्रह प्रशंसनीय छ। बैठक बाहिर नबोल्ने तर बैठक भित्र सुस्पष्ट धारणा राख्ने नेता भएकोले उहाँले आफ्नो कुरा सार्वजनिक गर्ने मामिलामा सधैँ फारोतिनो गर्ने गर्नुभएको छ । आजको युग वाचालको युग हो । आजको दल दलभित्र खुम्चिएर होइन आम जनमानसमा खुलस्त हुँदामात्र प्रभावशाली बन्न सक्छ।

महाधिवेशन घोषणा भइसकेपछि बिचारको खुलस्त प्रचार झनै आवश्यक हुन्छ। पार्टीहरु आम नागरिकका निधी हुन् । आजका नागरिक भोलिका कार्यकर्ता नेता हुन् । त्यसैले विचार र व्यवहार खुलस्त खुला विश्वस्त र फराकिलो हुनैपर्छ । न यो युद्धकाल हो न क्रान्तिकाल । यो त संवैधानिक र शान्तिपूर्ण जनपरिचालनको युग हो । यो युगमा राज्यलाई जनताको सहजकर्ता सेवक बनाउने र पार्टीलाई जनता र राज्यबीचको पुल, जनताको अनुगमन तथा हस्तक्षेपको प्रभावकारी औजार बनाउने युग हो । जनसम्वादलाई मार्गदर्शन बनाउने युग हो । यो बेलामा प्राकृतिक वा परिस्थितिजन्य दम्भबाट बेलैमा पन्छिनुपर्ने युग हो । दम्भबाट मुक्त अनि अहंकारशून्य नेतृवको खोजीमा अहिले नेपाली जनमानस छटपटाईरहेका छन् ।

कमरेड ईश्वर नेपाली कम्युनिष्ट आन्दोलनमा सुरुदेखि अहिलेसम्म निरन्तरता त्याग र सरलताको प्रतिनिधि पात्र हुनुहुन्छ । अब निर्धक्क बोल्नुस् । बिना लागलपेट बोल्नुस् । देशलाई असन्तोष र अन्य मनसिकताबाट मुक्त गर्दै सबै विचार संगठन र जनमानसबीच राष्ट्रको समुन्नतिको लागि साझा दृष्टिबोधक एकता निर्माण गर्न बोल्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *