काठमाडौं । न्युजिल्याण्डका चर्चीत अलराउन्डर जिम्मी जिशम दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) खेल्न नेपाल आउने भएका छन् । शुक्रबार बिहान पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत निशमलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
निशम लगातार दोस्रोपटक एनपीएल खेल्न नेपाल आउने भएका हुन् । यसअघि उनले गत संस्करण जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए । उनको अलराउण्ड प्रदर्शनको मद्दतमा जनकपुरले पहिलो संस्करणको उपाधि जितेको थियो ।
यस सिजनपनि उनलाई रिटेन गर्ने बुझिएपनि आईसीसीको नियमको कारण जनकपुर पछि हट्नु परेको थियो । आईसीसीले गत सिजन जस्तै यसपटकपनि टेस्ट राष्ट्रबाट ४ जना सक्रिय खेलाडीमात्र एनपीएलको लागि ल्याउन पाउने नियम व्यवस्था गरेको कारण जनकपुर अभागी बनेको थियो ।
एनपीएलका आठ फ्रेन्चाइज टोलीलाई गोलप्रथाका आधारमा हरेक चार टोलीले एक/एक टेस्ट राष्ट्रका सक्रिय खेलाडी अनुबन्ध गर्न पाउने निर्णय भएको थियो । उक्त चार टोलीमा यसपटक जनकपुर पर्न असफल भएपछि पोखरालाई निशमलाई टोलीमा भित्र्याउन बाटो खुलेको थियो ।
निशम हाल न्युजिल्याण्डबाट टी-२० आई खेलिरहेका छन् । उनले पछिल्लोपटक वेस्ट इन्डिजविरुद्धको टी-२० आई सिरिज खेलेका थिए । बिहीबार सम्पन्न पाँच खेलको सिरिज न्युजिल्याण्डले ३-१ ले जितेको थियो । हाल उनले ९३ टी-२० आई खेल्दै १ हजार १० रन बनाउँदै ५६ विकेट लिएका छन् ।
उनी गत सिजन एनपीएलको इनर्जेटिक प्लेयर अफ दी सिरिज चुनिएका थिए । त्यसक्रममा उनले २ सय ४७ रन बनाउँदै सात विकेट लिएका थिए ।
आकाश चोप्रा एनपीएलको ब्रोडकास्टरमा
यसपटकको एनपीएलमा भारतका चर्चीत ब्रोडकास्टर आकाश चोप्राको आवाज सुनिने भएको छ । एनपीएलले यस संस्करणको लागि चोप्रालाई ब्रोडकास्टरको रुपमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
भारतका पूर्व क्रिकेटर चर्चित क्रिकेटर चोप्रा कमेन्टेटर र विश्लेषक हुन् । उनले भारतको चर्चीत इन्डियन प्रिमियर लिग, वुमेन्स प्रिमियर लिग र सयौं घरेलु र अन्तराष्ट्रिय खेलमा कमेन्टेटरको रुपमा काम गरिसकेका छन् । उनले केहि वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेलहरु युट्युबमात्र विश्लेषण गर्दै आएका थिए ।
