कञ्चनपुर । कञ्चनपुर जिल्लामा बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिला गरी ७२ जनाले आत्महत्या गरेका छन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ,” उनले भने, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन् ।”
प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन् । “लकडाउनमा बेरोजगारी, विपन्न समुदायका जीविका चलाउनेदेखि विविधखाले समस्याले पनि हिंसाका घटना बढेको देखिन्छ,” उनले भने, “लकडाउन अवधिमा हुने अपराध नियन्त्रणमा प्रहरी पनि सोहीअनुसार योजना बनाएर अघि बढेको छ ।”
लकडाउन अवधिमै आत्महत्या दुरुत्साहन मुद्दामा एक जना पूर्पक्षका लागि कारागार चलान हुनुका साथै एक जना तारेखका छुटेका छन् । “लकडाउनमा यहाँ आत्महत्या तुरुत्साहनमा दुई वटा मुद्दा दर्ता गरेर कारवाही अघि बढेको थियो ,” प्रहरी प्रवक्ता थापाले भने । विगतमा पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना बढी नै रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
