बौद्ध गुम्बाहरुबारे भ्रम फैलाइएको भन्दै शेर्पा समुदायको आपत्ति, दुराशयपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्न माग

काठमाडौं । पछिल्लो केही समयदेखि बौद्ध गुम्बाहरुबारे विभिन्न सञ्चारमाध्यममा अनर्गल रुपमा फैलाएको भ्रम, दुराशयपूर्ण अभिव्यक्ति र गलतप्रचारबाजीप्रति नेपाल शेर्पा संघ लगायत सिंगो शेर्पा समुदायले आपत्ति जनाएको छ ।

नेपाल शेर्पा संघलगायत हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा युवा संघ नेपाल, शेर्पा कलाकार संघ नेपाल, नेपाल शेर्पा विद्यार्थी संघ, नेपाल शेर्पा महिला संघ, शेर्पा सञ्चार समूह नेपाल र शेर्पा पत्रकार संघ, नेपालले शुक्रबार विज्ञप्ति जारी गरी बौद्ध गुम्बाहरुबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयअघिदेखि बौद्ध गुम्बाहरुबारे विभिन्न सञ्चारमाध्यममा अनर्गल रुपमा फैलाएको भ्रम, दुराशयपूर्ण अभिव्यक्ति र गलतप्रचारबाजीप्रति नेपाल शेर्पा संघ लगायत सिंगो शेर्पा समुदायको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा फैलाएर तथ्यहीन, अतिरञ्जित विषयले धार्मिक, सम्प्रदायिक सहिष्णुतामा गम्भीर असर पुग्ने अभिव्यक्तिहरु खारेज गर्दछ ।’

उनीहरुले यसखाले अभिव्यक्ति, गतिविधिलाई तत्काल नियन्त्रण गरी द्वेष फैलाउनेहरुलाई कानूनी कठघरामा उभ्याउन माग गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘आपसी भाइचारा, सद्भाव, सामाजिक तथा धार्मिक एकता, सहिष्णुतासहित सदियौंदेखि एकढिक्का रहेको नेपाली समाजलाई भड्काउने, मुलुकलाई धार्मिक तथा सम्प्रादयिक द्वन्द्वतर्फ उन्मूख गराउने त्यसखाले अभिव्यक्ति, गतिविधिलाई तत्काल नियन्त्रण गरी दैष फैलाउनेहरुलाई कानूनी कठघरामा उभ्याई सचेत गराउन जोडदार माग गर्दछ । अदिम कालदेखि बुद्धले फैलाएको ज्ञानलाई अध्ययन, अध्यापन र अभ्यास हुँदै आएको पवित्र बौद्धधाम, गुम्बा, चैत्यहरुमा केवल शान्तिको अभ्यास हुन्छ । बुद्धको बचन, पञ्चशिलको सिद्धान्तका आधारमा गरिने अभ्यासहरु हुने पवित्र स्थलमा विभिन्न खाले वस्तुहरु लुकाईछिपाई राख्ने विषय परिकल्पना नै गर्न सकिँदैन । तथाकथित अराजक तत्वहरुले बौद्ध धर्म र विश्वभर छरिएर रहेका बुद्धका अनुयायीहरुको भावनामा चोट पुर्याउने कुत्सित मानसिकताका साथ फैलाएको भ्रम मात्र हो ।’

उनीहरुले तथाकथित प्रवुद्धबर्ग ठान्नेहरुले मुलुकलाई द्वन्द्वतर्फ उन्मूख गराउने अभिप्रायले रचिएको यस्ता प्रपञ्चले केवल एउटा धार्मिक समूहको विरुद्धमात्रै नभएर मुलुककै हित विपरित परिचालित गिरोहहरुको चलखेलको पुष्टि भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, जिम्मेवार राजनीतिक दलका सदस्य, आफूलाई तथाकथित प्रवुद्धबर्ग ठान्नेहरुले मुलुकलाई द्वन्द्वतर्फ उन्मूख गराउने अभिप्रायले रचिएको यस्ता प्रपञ्चले केवल एउटा धार्मिक समूहको विरुद्धमात्रै नभएर मुलुककै हित विपरित परिचालित गिरोहहरुको चलखेल हो भन्ने पुष्टि हुन्छ । बौद्ध धर्म, सम्प्रदाय अहिंसाको अभियान्त हो । बौद्ध धर्ममा आस्थाको केन्द्र गोन्पामाथि प्रहार गर्नु नेपालको संविधानकै बर्खिलापमा छ । बुद्धले दिएको अनुपम बचनहरुलाई पालना गर्दै अघि बढ्नुको साटो अनेकन भ्रम फैलाउने, व्यक्तिगत स्वार्थपूर्तिका लागि सदियौंदेखि मिलेर बसेको समाजलाई भड्काउने तत्वहरु उद्धत हुनु अत्यन्तै आपतीजनक विषय हो । यो कदापी स्वीकार्य विषय होइन ।’

उनीहरुले जिम्मेवार सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित विषयहरुमात्रै बुझेर समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *