निजी अस्पतालका नर्सहरूको आन्दोलनमा सरकारी अस्पतालमा कार्यरत नर्सहरुको ऐक्यबद्धता

काठमाडौं । सरकारी अस्पतालमा कार्यरत नर्सहरूले निजी अस्पतालका नर्सहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतको माग राखेर निजी अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित छन् ।

त्यसमा ऐक्यबद्धता जनाउँदै शुक्रबार सरकारी अस्पतालमा कार्यरत नर्सहरूले बिहान १० देखि १२ बजेसम्म प्ले कार्ड प्रदर्शन गर्दै शान्तिपूर्ण धर्ना दिएका छन् ।

निजी अस्पतालका नर्सहरूलाई पारिश्रमिकलगायत सेवा सुविधा कम दिएको भन्दै गत कात्तिक २ गते नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनः पेश गरिएका माग सम्बोधनका लागि कार्यदल गठन भएपछि कार्यदलको प्रतिवेदन नआएसम्म चरणबद्ध आन्दोलन अघि बढाउने घोषणा गरेको थियो ।

जसअनुसार कात्तिक ४ देखि ११ गतेसम्म देशभरका अस्पताल र स्वास्थ्य शिक्षण संस्थामा कालोपट्टी बाँधेर काम गरिने र १२ देखि १८ गतेसम्म बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेक नर्सिङ सेवा बन्द गर्दैछन् ।

संघले निजी तथा शिक्षण अस्पतालमा नर्सलाई सरकारी सरह पारिश्रमिक दिनुपर्ने, दरबन्दी सिर्जना, बढुवा, स्थायी नियुक्ति, औद्योगिक नर्सको व्यवस्था र नीति निर्माणमा नर्सहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ ।कार्यदलको प्रतिवेदन आएपछि थप आन्दोलन कार्यक्रम घोषणासमेत गरिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *