एजेन्सी । घरेलु टोली भारत आईसीसी महिला विश्वकप २०२५ को फाइनलमा पुगको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।
जितको लागि ३ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४८.३ ओभरमा ५ विकेटको क्षतिमा ३ सय ४१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भारतको लागि जेमिमा रोद्रिगेजले कीर्तिमानी सतक पूरा गर्दै नटआउट रहिन् । उनले १ सय ३४ बलमा १४ चौकाको मद्दतमा १ सय २७ रन बनाइन् । उनलाई हर्मनप्रित कौरले ८९ रन बनाउँदै साथ दिएकी थिइन् । उनले ८८ बलमा १० चौका र २ छक्का हिर्काइन् । दुईले तेस्रो विकेटको लागि १ सय ६७ रनको साझेदारी गरेका थिए । यस्तै रिचा घोषले २६ तथा स्मृति मन्धना र दिप्ती शर्माले समान २४/२४ रन बनाउँदा अमनजोत कुरले १५ र शफाली वर्माले १० रनको योगदान गरे ।
अष्ट्रेलियाको लागि किम गर्थ र अन्नाबेल सुथरल्याण्डले समान दुई/दुई विकेट लिए ।
यसअघि मुम्बईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ४९.५ ओभरमा अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो । अष्ट्रेलियाको लागि फोइबे लिच्फिल्डले सतक बनाइन् । उनले ९३ बलमा १७ चौका र ३ छक्काको सहयोगमा १ सय १९ रन बनाइन् । यस्तै इलिसे पेरीले ७७, अश्लेग गार्डेनरले ६३, बेथ मोनीले २४,किम गार्थले १७ र ताहिला म्याकग्राथले १२ रन बनाए ।
भारतको लागि श्री चरानी र दिप्ती शर्माले समान दुई/दुई विकेट लिँदा क्रान्ति गौड, अमनजोत कौर र राधा यादवले समान एक/एक विकेट लिए ।
अब आइतबार हुने फाइनल खेलमा उपाधिको लागि भारत र दक्षिण अफ्रिका भिड्नेछन् । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई १ सय २५ रनले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो ।
