भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

चितवन। चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी)मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारीसमेत गराइने छ। अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने भएकाले बिरामी आइसियु सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेकाको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले आइसियु जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न उक्त व्यवस्था लागू गरिएको जानकारी दिए।

उनले भने, ‘आइसियु सेवामा थप पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको नाम विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था लागू गरेका हौँ। आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई फोनमार्फत सन्देश पठाइने व्यवस्था गरेका छौँ। यसले सेवा प्रवाहलाई थप व्यवस्थित र विश्वासनीय बनाउन सहयोग पुग्ने छ।’

अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट आइसियुमा भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिने छ। यस व्यवस्थाले आइसियुमा शय्या खाली भए र नभएको जानकारी सहज रूपमा प्राप्त गर्न सकिने तथा आवश्यकताका आधारमा सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ।

यस व्यवस्थाले आइसियु शय्याको उपलब्धतासम्बन्धी जानकारी सहज बनाउनुका साथै चिकित्सकीय प्राथमिकता र निर्धारित प्रक्रियाअनुसार सेवा प्रवाह गर्न सहयोग पुग्ने प्रवक्ता डा सापकोटाले बताए।

छ सय शय्याको भरतपुर अस्पतालमा हाल वयस्कतर्फको सघन उपचार सेवाअन्तर्गत पुरानो आइसियु (एमआइसियु र एआइसियु)मा १८ शय्या, नयाँ आइसियु तथा सिसियुमा १८ शय्या र बर्न वार्डको आइसियुमा दुई शय्या गरी कूल ३८ शय्या सञ्चालनमा रहेका छन्।

बालबालिका तथा नवजात शिशुका लागि ३५ शय्याको आइसियु सेवा उपलब्ध छ। अस्पतालको आकस्मिक विभागमा ५० शय्या छन्। अस्पतालमा दैनिक रुपमा तीन हजारभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *