काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दबाब दिइरहेको समाचारको खण्डन गरेको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको भन्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने उल्लेख गरेका छन् ।
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहको श्रेष्ठले उल्लेख गरेका छन् ।
उनले संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।

