बीबीसी । अष्ट्रेलियाको मेलबर्नमा क्रिकेट अभ्यास गर्ने क्रममा बलले लागेर एक जना किशोरको मृत्यु भएको छ । १७ वर्षका बेन अस्टिनलाई फर्नट्री गली क्रिकेट प्रशिक्षण केन्द्रमा जालीभित्र अभ्यास गर्ने क्रममा अटोमेटिक बलिङ मशिनले प्रहार गरेको बलले टाउको र घाँटीमा लागेको थियो ।
उनले सुरक्षाका लागि हेलमेट पनि लगाएका थिए । साँझ पाँच बजे उनलाई बलले लागे लगत्तै आपत्कालिन सेवालाई खबर गरिएको थियो। गम्भीर अवस्थामा स्थानीय मोनाशस्थित बाल अस्पतालमा पुर्याइएका ती किशोरको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
फर्नट्री गली क्रिकेट क्लबले आफ्ना खेलाडीको दुःखद निधनबाट स्तब्ध भएको जनाएको छ । फर्नट्री गली क्रिकेट असोसिएसनका अध्यक्ष अर्नी वाल्टर्सले बेन ‘स्थानीय क्रिकेटमा निकै लोकप्रिय र प्रतिभाशाली’ रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै बेन आबद्ध क्रिकेट क्लबले उनको परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेको छ । ती किशोरको परिवारको तर्फबाट क्लबले एम्बुलेन्स भिक्टोरिया, प्रहरी र अस्पतालका कर्मचारीलाई उनीहरूको सेवाप्रति आभार व्यक्त गरेको छ ।
