प्रज्जवल थापा । एफ ए कप अन्तर्गत एभर्टन र टोटेन्हामबिच भएको रोमाञ्चक खेलमा एभर्टन विजयी भएको छ । बुधबार राति भएको खेलमा एभर्टनले टोटेन्हामलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।
नियमित समयमा जितको टुङ्गो नलागेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचर्लिसोनले दुई गोल गर्दा डोमिनिक कार्भेट लेविन, ग्यल्फी सिगुर्डसोन र बेर्नार्डले एक/एक गोल गरे । टोटेन्हामको लागि डेबिन्सोन सान्चेजले दुई, ह्यारी केन र इरिक लमेलाले एक/एक गोल गरेपनि टोलीको जितमा पर्याप्त रहेन ।

खेलको तेस्रो मिनेटमा ह्युङ मीन सनको पासमा सान्चेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए । ३६ औं मिनेटमा सिगुर्डसनको पासमा कार्भेर्ट लेविनले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । ३८ औं मिनेटमा लेविनको पासमा रिचार्लिसनले गिल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४३ औं मिनेटमा सिगुर्डनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
४५ औं मिनेटमा इरिक लमेलाले गोल गर्दै टोटेन्हामलाई ३-२ को स्थितिमा ल्याएका थिए । ५७ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटेन्हामलाई ३-३ गोलको बराबरीमा ल्याए । ६८ औं मिनेटमा सिगुर्डसनको पासमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई फेरि खेलमा अगाडि बढाएका थिए । ८३ औं मिनेटमा सनको पासमा ह्यारी केनले गोल गर्दै टोटेन्हामलाई बराबरी ल्याए ।

अतिरिक्त समयको सातौं मिनेटमा सिगुर्डसनको पासमा बेर्नार्डले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसक्दा एभर्टन ५-४ गोलले विजयी भएको हो । जितसँगै एभर्टनले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
