काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेर अमेरिका पुगेका भनिएका पूर्वऊर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन् ।
खड्काले सोमबार बिहान जेनजी आन्दोलनका क्रममा आगजनी गरेको काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा खड्काले आफू देश छाडेर कतै नगएको बताएका छन् । उनले आफूमाथि उठेका विषयमा छानबिन गर्न चुनौती दिए ।
उनले भने, ‘म माथि उठेका विषयमा छानबिन गरे भयो । निष्पक्ष छानबिन होस्, म सहयोग गर्न तयार छु । हामी कानुनी राज्यमा विश्वास गर्ने व्यक्ति हौँ । छानबिन होस्, म सहयोग गर्न तयार छु ।’
उनले अहिलेको सरकारमा रहेका र यसअघिका सरकारहरूमा रहेकाहरूको पनि सम्पत्ति छानबिन गर्न माग गरे । आफू भागेर अमेरिका गएको भन्ने भ्रम सञ्चारमाध्यमले छरेको भन्दै उनले आपत्ति जनाए ।
श्रीमतीलाई डेंगु भएपछि उपचारका लागि भारत भएको र उनीहरू अहिले पनि मेदान्त अस्पतालमा रहेको उनले बताए । आफूले पैतृक सम्पत्ति पनि नलिएको र आफैँले कमाएर अहिलेको अवस्थामा आएको उनले बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पूर्वऊर्जामन्त्री खड्का देश छाडेर भागिसकेको बताएका थिए । उनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा छानबिन थालेपछि खड्का देश छाडेर भागेको र अरू पनि भाग्न खोजेको बताएका थिए।