शान्तिको पक्षमा बोलेकामा मसँग सरकारसँग रिसाएको छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनले समाजमा त्रासको मनोविज्ञान बनाएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष ओलीले सर्वसाधारणदेखि व्यवसायीसम्म कुनैपनि बेला लुटपाट हुनसक्ने त्रासमा रहेका बताएका हुन् ।

उनले भने,‘अहिले देश त्रसित मनोविज्ञानमा भएको अवस्था छ । कतिबेला लुटिने हो भन्ने त्रास छ । व्यवसायी कतिबेला लुटिने हो भन्ने त्रासमा छन् । पहिले पहिले महिलाको गलामा सिक्रि देखिन्थ्यो, अहिले डरले सिक्रि देख्न मुस्किल छ ।’

उनले जेनजी आन्दोलनपछि मुलुकलाई अराजकतामा धकेलेको बताए । अध्यक्ष ओलीले कानुनी राजबाट आवेश उत्तेजनातर्फ प्रतिगमन भएको बताए ।  उनले जेनजी आन्दोलनका बेला नेपो बेबी भनेर नेता र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताए ।

उनले भने, ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरनाक नेपो बेबी । अब त्यो बच्चाको के दोष ? यो समाज हो की मान्छेहरुको भीड मात्रै हो । अहिले बालबालिकाहरुलाई त्रसित बनाइएको छ । नेपो बेबी भनेर बालबालिकामाथि आक्रमण गरिएको छ । के सिक्दैछ हाम्रो समाज अनि हामी त्यही हल्लाको पछि लाग्ने हो ?’

अध्यक्ष ओलीले मुलुकमा अराजकता हुन नदिन एमाले अघि बढ्ने बताए । उनले भने, ‘सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि म भन्न चाहन्छु यो देशमा नेकपा एमाले पनि छ । हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण देशको रूपमा परिणत गरेरै छाड्छौं ।’

उनले सामाजिक सन्तुलन भंग गर्ने र हिंसात्मक गतिविधिबाट लाभ उठाउने प्रयास स्वीकार्य नहुने बताए । उनले भने, ‘अर्काको सम्पत्ति लुटेर आफ्नो जीविकोपार्जन चलाउने, अधुरो खुसीका लागि हिंसा मच्चाउने, अर्काको घरमा आगो लगाउने—कस्तो रिस हो यो ? कस्तो आक्रोश हो ?’

उनले हाल देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको भन्दै सरकारले त्यसको विरोध गरेको आरोप लगाएका छन् । ओलीले देशमा आतंक फैलिएको र सरकारले त्यसलाई नियन्त्रण गर्नुको सट्टा शान्तिको पक्षमा बोलेकामा आफूप्रति रिस व्यक्त गरिरहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *