प्रज्जवल थापा । स्ट्रार स्ट्राइकर सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकको सहयोगमा एपिएफले आफ्नो अपराजित यात्रा आठौं खेलसम्म लम्ब्याएको छ । बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ८-० गोलले पराजित गरेको हो ।
एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ६ गोल गर्दा अनिता बस्नेतले दुई गोल थपिन् । खेल शुरु भएको १७ सेकेन्डमै सावित्राको पासमा अनिता बस्नेतले गोल गर्दै एपिएफलाई खेलमा अगाडि बढाएकी थिइन् । छैटौं मिनेटमा सावित्राले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । ३३ औं मिनेटमा सावित्राले फ्रि-किकमा गोल गर्दै एपिएफलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा ३ गोल गरेको एपिएफले दोस्रो हाफमा ५ गोल थप्यो । ४७ औं मिनेटमा अनुको पासमा सावित्राले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ५४ औं मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई फराकिलो जिततर्फ अगाडि बढाईन् । ६० औं मिनेटमा शरुको पासमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दै एपीएफलाई ६-० गोलको अग्रता दिलाईन् ।
६२ औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ र टिमको लागि सातौं गोल गरिन् । ७९ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो ह्याट्रिक गर्दै एपीएफलाई ८-० गोलको फराकिलो जित दिलाइन् । जितसँगै एपिएफ ८ खेलमा २४ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । पराजित चन्द्रपुर ८ खेलमा ६ अङ्क जोड्दै लिगको छैटौं स्थानमा छ ।
तस्बिर:- एन्फा
