एजेन्सी । फिफा विश्वकप-२०२६ को युरोपेली छनोट अन्तर्गत भएको खेलमा जर्मनी र फ्रान्स विजयी भएका छन् । शुक्रबार राति भएको खेलमा लुक्सम्बर्गलाई ४-० गोलले हराउँदै जर्मनीले छनोटमा दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन जोश्वा किम्मिचले दुई तथा सेजे ग्नाब्री र डेभिड राउमले समान एक/एक गोल गरे ।
जितसँगै जर्मनी ३ खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन लुक्समबर्ग पुछारमा रहेको छ ।
गएरातिनै समूह ‘डी’ अन्तर्गत भएको खेलमा अजरबैजानलाई ३-० गोलले हराउँदै फ्रान्सले छनोटमा लगातार तेस्रो जित निकालेको हो ।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एड्रिन राबियोट, किलियन एम्बाप्पे र फ्लोरिन थाउविनले समान एक/एक गोल गरे ।
जितसँगै फ्रान्स ३ खेलबाट ९ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट एक अंक जोडेको अजरवैजान पुछारमा रहेको छ ।
