काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ गरिएको छ। सोमबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फा कम्प्लेक्समा टोलीको बिदाइ गरेको हो ।
नेपाल र भियतनामले अक्टोबर ९ र १४ गते एएफसी एसियन कप छनोट खेल्नेछन् । यो छनोटका लागि आइतबार मुख्य प्रशिक्षक म्याट रसलले कप्तान किरण कुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।
दुवै खेल भियतनामको बिन दुङ रङ्गशालामा खेलिनेछ । होम एन्ड अवे प्रणालीमा हुने भनिएको म्याच नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला खेल्न अयोग्य ठहर भएपछि दुवै खेल भियतनामको मैदानमा हुन लागेको हो।
