भिनिसियसको दुई गोलमा म्याड्रिड विजयी

एजेन्सी । ब्राजिलियन विंगर भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भिल्लारियललाई ३-१ गोलले हराउँदै म्याड्रिड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भिनिसियसले दुई गोल गर्दा किलियन एम्बाप्पेले एक गोल गरे । भिल्लारियलको लागि जोर्ज्स मिकाउटाड्जेले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको दोस्रो मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।

६९ औं मिनेटमा भिनिसियसले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । चार मिनेटपछि जोर्ज्सले गोल गर्दै भिल्लारियललाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ७७ औँ मिनेटमा सान्टियागो मोउरिनो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भिल्लारियल १० खेलाडीमा समेटिएको थियो ।

यस्तै ८१ औँ मिनेटमा डियाजको पासमा एम्बापेले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको जित दिलाएका हुन् । जितसँगै म्याड्रिड ८ खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट १६ अंक जोडेको भिल्लारियल तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *