बिराटनगरमाथि पुलिसको शानदार जित

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा पुलिसले बिराटनगर महानगरपालिका मोरङलाई ३-० गोलले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलका पुलिसलाई जित दिलाउन निरु थापाले दुई गोल गर्दा निर्मला उपाध्यले एक गोल गरिन् । निर्मलाले खेलको ४१ औं मिनेटमा गोल गर्दै पुलिसलाई खेलमा अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोल गरेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

५७ औं मिनेटमा निरु थापाले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाइन् । ६० औं मिनेटमा निरुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-० गोलको शानदार जित दिलाइन् । जितसँगै पुलिस ८ खेलमा ११ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित बिराटनगर भने ८ खेलमा १० अङ्क जोड्दै पाँचौ स्थानमा झरेको छ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *