प्रज्जवल थापा, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको एतिहासिक टी-२० आई सिरिज शुरू गर्दैछ । युएईमा आजबाट शुरू हुने सिरिजको पहिलो खेल शारजाह क्रिकेट स्टेडियममा बेलुकी ८:४५ बजे हुनेछ ।
नेपालले आज पहिलोपटक वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्न लागेको हो । पहिलोपटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग सिरिज खेल्न लागेकाले यस सिरिज नेपालको लागि एतिहासिक रहेको छ । अर्को महिना ओमानमा हुने आईसीसी टी-२० विश्वकप इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरूप वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो ।
नेपाललाई यस सिरिजमा दुई इतिहास रच्ने अवसर रहेको छ । हालसम्म आईसीसीको पूर्ण सदस्य टोलीलाई हराउन नसकेको नेपाल आजको खेलमा जित निकाल्दै इतिहास रच्न चाहन्छ । यस्तै नेपाललाई यस सिरिज जित्दै इतिहास कोर्ने अर्को मौकापनि रहेको छ । टेस्ट राष्ट्र बन्ने लक्ष्यमा रहेको नेपाललाई यस सिरिज जित्न सकेको खण्डमा ठुलो सहयोग मिल्नेछ । टेस्ट राष्ट्र बन्नको लागि पूर्ण सदस्य राष्ट्रलाई हराउनुपर्ने भएकाले पनि नेपाल सुनौलो मौकालाई यसपटक गुमाउने पक्षमा छैन ।
यस्तो छ नेपालको पूर्ण सदस्य राष्ट्रसँगको पछिल्लो नतिजा
नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग १२ खेल खेलेको छ । जसमध्ये नेपालले भारत, पाकिस्तान, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बाब्वेसँग एक/एक एकदिवसीय खेल खेलेको छ भने टी-२० आईतर्फ बंगलादेश, जिम्बाब्वे र आयरल्याण्डसँग समान दुई/दुई खेल खेल्दा दक्षिण अफ्रिकासँग एक खेल खेलेको छ ।
टेस्ट राष्ट्रसँगको १२ खेलमा नेपाल हालसम्म जितविहीन रहेको छ । बारम्बार जित नजिक पुगेकीपनि नेपाली टोलीले अन्तिम समयमा नतिजा विपक्षीलाई सुम्पिदै आएको छ । गत वर्ष वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना भएको आईसीसी टी-२० विश्वकपमापनि नेपालले दक्षिण अफ्रिकासँग एक रनको झिनो हार बेहोरेको थियो ।
पूर्ण सदस्य राष्ट्रविरुद्ध एकदिवसीयमा नेपालको नतिजा
जिम्बाब्वेविरुद्ध २०२३ क्रिकेट विश्वकप छनोटमा ८ विकेटको हार
वेस्ट इन्डिजविरुद्ध २०२३ क्रिकेट विश्वकप छनोटमा १ सय १ रनको हार
आयरल्याण्डविरुद्ध २०२३ क्रिकेट विश्वकप छनोटमा २ विकेटको हार
पाकिस्तानविरुद्ध २०२३ एसिया कपमा २ सय ३८ रनको हार
भारतविरुद्ध २०२३ एसिया कपमा १० विकेटको हार
पूर्ण सदस्य राष्ट्रविरुद्ध टी-२० आईमा नेपालको नतिजा
बंगलादेशविरुद्ध २०१४ टी-२० विश्वकपमा ८ विकेटको हार
जिम्बाब्वेविरुद्ध २०१९ सिंगापुर त्रिकोणात्मक सिरिजमा ४ र ५ विकेटको हार
आयरल्याण्डविरुद्ध २०१९ ओमान पेन्टागुलर सिरिजमा १४ रनको हार
आयरल्याण्डविरुद्ध २०२२ ओमान चारदेशीय सिरिजमा १६ रनको हार
दक्षिण अफ्रिकाविरुद्ध २०२४ टी-२० विश्वकपमा १ रनको हार
बंगलादेशविरुद्ध २०२४ टी-२० विश्वकपमा २१ रनको हार
वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउने नेपाललाई अवसर
नेपाली टोलीलाई वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउने अवसर रहेको छ । वेस्ट इन्डिजले आफ्नो पछिल्लो १४ खेलमा मात्र दुई खेल जित्न सकेको छ भने १० खेलमा पराजित भएको छ । गत जुनमा इंग्ल्याण्डविरुद्ध भएको तीन खेलको सिरिजमा ह्वाइट वास भएको वेस्ट इन्डिजले त्यसपछि आयरल्याण्डविरुद्धको तीन खेलकै सिरिजमा एक जितमात्र निकाल्न सक्यो । दुई खेल भने वर्षाको कारण रद्द भएको थियो ।
त्यसपछि जुलाईमा घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध भएको पाँच खेलको सिरिजमा पनि वेस्ट इन्डिज सबै खेलमा पराजित भएको थियो । यस्तै गत अगस्टमा पाकिस्तानलाई घरमै निम्त्याएको वेस्ट इन्डिजले तीन खेलको सिरिजमा एक जित निकाल्दा दुई हार बेहोर्न पुगेको थियो ।
त्यसैले वेस्ट इन्डिज यसपटक नेपाललाई हराउँदै पुनरागमन गर्ने लक्ष्यमा रहेको छ भने यता नेपाललाई भने वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउँदै एतिहासिक जित निकाल्ने अवसरसँगै चुनौती रहेको छ ।
नेपालको मिश्रित नतिजा
नेपालले यस वर्ष आठ वटा टी-२० आई खेल खेलेको छ । जसमा नेपालले चार जित हात पार्दा तीन खेलमा पराजित भएको छ । एक खेल भने वर्षाको कारण रद्द भएको थियो । गत अप्रिलमा नेपालले हङकङमा चार देशीय टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजको फाइनल खेलमा नेपाल कुवेतसँग तीन रनको हार बेहोर्दै घर फर्किएको थियो ।
त्यसपछि नेपालले गत जुनमा स्कटल्याण्डमा नेदरल्यान्ड्स र घरेलु टोली सम्मीलित टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्सलाई एक/एक खेलमा हराउँदा एक/एक खेलमा हार बेहोरेको थियो ।
यस्तै नेपालले गत महिना अष्ट्रेलियामा टप एण्ड टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले ६ खेल खेल्दा दुई जित र चार हारको नतिजा निकालेको थियो । अष्ट्रेलिया भ्रमणको क्रममा नेपालले त्यहाँको स्थानीय क्लबहरुसँग पनि खेल खेलेको थियो ।
उत्साहित नेपाली टोली
वेस्ट इन्डिजविरुद्धको सिरिजलाई लिएर नेपाली टोली उत्साहित रहेको छ । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको कारण भिसा पाउनमा ढिला भएपनि नेपाल खेल हुनुभन्दा पाँच दिन अगाडिनै युएई पुगेकाले त्यहाँको मौसमसँग घुलमिल हुने राम्रै समय पाएको थियो ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले टोली उत्साहित रहेको र यसपटक सिरिज जित्ने प्रतिवद्धता दिएका छन् । उनले भने, “वेस्ट इन्डिजसँग खेल्न सबै जना उत्साहित छन्, पछिल्लो दुई/तीन वर्षदेखि टेस्ट राष्ट्रसँगको खेलले हामीलाई फाइदा पुर्याएको छ । हामी सधैं अन्तिम समयमा चुक्दै आएका थियौं, यसपटक सबै टोलीको गोलनै सिरिज जित्ने छ । ”
यसअघि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले दुई खेल जित्दा तीन खेलमा पराजित भएको थियो । त्यसैले नेपाल यसपटक नतिजा उल्टाउने लक्ष्यमा रहेको छ ।
कुशल मल्ल र आदील अलामको पुनरागमनले नेपाली टोलीको ब्याटिङ लाइनअप थप बलियो देखिएको छ । आदीलसँगै स्पिनर सहाब आलमपनि यसपटक टोलीमा रहेका छन् । तर आजको खेलमा सन्दीप लामिछाने र ललित राजवंशीको जोडीले टोलीको स्पिन डिपार्टमेन्ट सम्हाल्ने उच्च सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, गुलसन झा, आदिल अलाम, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी
नेपाली टोली:- रोहित पौडेल(कप्तान) दीपेन्द्रसिंह ऐरी(उपकप्तान), सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।
कस्तो छ वेस्ट इन्डिजको टोली ?
नेपालविरुद्धको सिरिजको लागि वेस्ट इन्डिजले युवा टोलीलाई पठाएको छ । वेस्ट इन्डिजको १५ सदस्यीय टोलीमा पाँच नयाँ अनुहार रहेका छन् भने नियमित कप्तान शाइ होपलाई विश्राम दिइएको छ । होपको अनुपस्थितिमा टोलीका सबैभन्दा अनुभवी खेलाडी एकल होसेनले कप्तानी सम्हाल्नेछन् ।
अमेरिकाबाट आठ टी-२० आई खेलिसकेका करिमा गोरेपनि वेस्ट इन्डिजको टोलीमा रहेका छन् । उनले केरेबियन प्रिमियर लिगको ११ खेलमा २ सय १९ रन बनाउँदै टोलीमा स्थान बनाएका हुन् । यस्तै अन्य अनुभवी खेलाडीमा जेसन होल्डर, काइल मेयर्स र फाबियन एलेन रहेका छन् ।
वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्रिउ, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गो, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिम्मोन्ड्स, शमार स्प्रिङ्गर