सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दियोः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले आफ्नो १०० दिने कार्यकालमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा सभापति थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘वर्तमान सरकारले १०० दिनमा लाइफ भन्दा लाइक महत्त्वपूर्ण छ । सरकारले सोच्दै गर्दा निर्णय गर्दैगर्दा मान्छेको कुनै पनि लाइफलाई के फरक पर्छ भनेर नसोच्ने भयो । त्यसले लाइक कति वटा थप्छ भनेर सोच्ने भयो । यो हाम्रो लागि चिन्ताको विषय बन्यो ।’

सरकारले परिणाम दिनु महत्त्वपूर्ण भए पनि त्यसका लागि कानुनी प्रक्रिया र विधि मिच्न नहुने थापाले बताए ।
सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेसले सहयोग गरेको बताउँदै उनले कानुनअनुसार काम गर्न सरकारलाई आग्रह गरे ।
‘हामी सम्पत्ति छानबिन आयोगलाई विवरण बुझाउने प्रक्रियामा सहभागी हुन्छौँ। तर सरकारलाई हाम्रो आग्रह के हो भने कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ। कार्यकारी आदेशका भरमा यस्ता निर्णय गर्नु हुँदैन,’ उनले भने ।
थापाले वर्तमान सरकारले ‘विधि र प्रक्रिया होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो’ भन्ने सोचले अगाडी बढेको आरोप लगाए ।
उनले यो सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको बताए । उनले भने, ‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ । यस्तो अभ्यास हामीले विगतमा पनि देखेको हो, नेकपाको सरकार भन्दा अहिलेको सरकार फरक देखिएन ।’

सभापति थापाले सरकारले व्यापक भयको वातावरण सृजना गरेको बताए । उनले भने, ‘कस्तो वातावरण भयो भने– व्यापक भयको वातावरण, सबै जना तर्सेका छन्, सबैको सातो गएको छ । कानूनले चिनेको कुरा गर्दा हाम्रो समर्थन रहन्छ, हामी नेता र नाता भन्दैनौं, तर सरकारले जसरी व्यवहार गरेको छ– यो ठग हो, थुन्ने हो, बाँध्ने हो भन्ने गरी । त्यो गलत छ।’

उनले संवेदनशील विषयहरूमा सरकार सञ्चालन गर्ने दलकै व्यक्तिहरूबाटै ध्यान नदिएको बताए । उनले आफूहरू संविधान संशोधनको पक्षमा भएको तर यसलाई हचुवाको भरमा गर्दा एकैछिनमा आगो बाल्नसक्नेतर्फ सरकारलाई सचेत रहन आग्रह गरे ।

उनले भने, ‘हामी संविधान संशोधन गर्ने पक्षमा नभएको होइन । तर यसरी होइन, यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ ।’

सभापति थापाले विविधताहरूलाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्त्वपूर्ण हुने भन्दै जे मन लाग्यो त्यही पारामा नचल्न आग्रह गरे ।

उनले भने, ‘संवेदनशील विषयहरूलाई बडो हल्का पाराले, म त भन्छु बडो लफङ्गो पाराले, जे मन लाग्छ, त्यही बोलिदिएको छ, जे मन लाग्छ त्यही गरिदिएको छ । यो चिन्ताको विषय हो ।’ सभापति थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्री बालेन साहको प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *