महोत्तरीमा ४८७ किलो गाँजासहित दुईजना पक्राउ

जलेश्वर । महोत्तरीमा प्रहरीले करिब ४ सय ८७ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गएराति एकडारा गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको ४० किलो गाँजा बरामद गरिएको थियो । ट्रकमा सवार दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले धनकुटाको भेडेटारबाट ल्याइएको गाँजा महोत्तरी गाउँपालिका–४ रानी रतवडास्थित एक स्थानमा झारेको बयान दिएपछि प्रहरीले सो क्षेत्रमा खोजतलास गरेको थियो ।

त्यसक्रममा स्थानीय जनप्रतिनिधिको रोहबरमा गरिएको खानतलासीमा कतारमा रहेका सिया शरण पासवानको घरबाट खाटमुनि लुकाएर राखिएको ३५ वटा पोकामा ४ सय ४६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। घरमा ताला लगाइएको अवस्थामा उनकी श्रीमती लिलम देवी फरार रहेकी थिइन् ।

ट्रकबाट बरामद भएको ४० किलो र घरबाट फेला परेको ४४६.७४५ किलो गरी कुल ४ सय ८७ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुई जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी महोत्तरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *