एजेन्सी । फ्रान्सेली विंगर ओउस्माने डेम्बेलेले पुरुषतर्फको बेलन डी’ओर अवार्ड जितेका छन् । सोमबार राति पेरिसमा सम्पन्न अवार्ड समारोहमा डेम्बेलेले बार्सिलोनाका लामिने यामाल र पीएसजीकै भिटिन्हालाई पछि पार्दै पहिलोपटक उक्त अवार्ड जितेका हुन् ।
२८ वर्षीय डेम्बेलेले गत सिजन पेरिस सेन्ट जर्मन(पीएसजी)बाट शानदार प्रदर्शन गर्दै टोलीलाई पहिलोपटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसक्रममा उनले आठ गोल गर्दै ६ एसिस्ट प्रदान गरेका थिए । गत सिजन पीएसजीले च्याम्पियन्स लिगसहित लिग वान, कोपा डे फ्रान्स र ट्रफी डेस च्याम्पियन्स जितेको थियो ।
डेम्बेलेले गत सिजन ३३ गोल गर्दै १३ एसिस्ट प्रदान गरेका थिए । उनी युरोपको शीर्ष लिगमा ह्यारी केन, मोहम्मद सलाह, राफिन्हा र एम्बाप्पेपछि सबैभन्दा धेरै गोलको लागि योगदान गर्ने खेलाडी हुन् ।
डेम्बेले पीएसजीबाट लियोनल मेस्सीपछि बेलन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । यस्तै उनी उक्त अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी बनेका छन् । यसअघि सन् २०२२ मा फ्रान्सका करिम बेन्जिमाले बेलन डी’ओर अवार्ड जितेका थिए ।
यस्तै महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर अटाना बोन्माटीले लगातार तेस्रोपटक बेलन डी’ओर अवार्ड जित्दै ह्याट्रिक गरेकी छिन् । यसअघि लियोनल मेस्सीले सन् २००९ देखि २०१२ सम्म लियोनल मेस्सीले लगातार अवार्ड जितेका थिए ।
बेलन डी’ओरको शीर्ष १० मा पर्ने पुरुष खेलाडी
- ओउस्माने डेम्बेले
- लामिने यामाल
- भिटिन्हा
- मोहम्मद सलाह
- राफिन्हा
- अचार्फ हकिमी
- किलियन एम्बाप्पे
- कोल पाल्मेर
- गिन्लुइगी डोनारुमा
- नुनो मेन्डेस
अन्य विधाका विजेताहरु
सोक्राटेस अवार्ड:- जाना फाउन्डेसन
पुरूष वर्ष क्लब :- पेरिस सेन्ट जर्मन
महिला वर्ष क्लब:- आर्सनल
गर्ड मुलर ट्रफी :- एवा पाजोर र भिक्टोस ग्योकेरेस
पुरूष याशिन ट्रफी :- गिन्लुइगी डोनारुमा
महिला याशिन ट्रफी :- हान्नाह हाम्टोन
पुरूष जोहान कर्फ ट्रफी :- लुइस इन्रिकी
महिला जोहान कर्फ ट्रफी :- सारिना वेग्म्यान
पुरूष कोपा ट्रफी :- लामिने यामाल
महिला कोपा ट्रफी:- विकी लोपेज