-ऋषि कट्टेल ।
यो आन्दोलनले केही सकारात्मकता केही डरलाग्दो नकारात्मक परिणामबाट विश्राम लिए जस्तो देखिँदैछ । तर मलाई यो यति सहजतासाथ टुंगिला भन्ने लाग्दैन । किनकी यसभित्र शक्ति केन्द्रहरुको निकै डरलाग्दो योजना प्रष्टै देखियो । यी आफैं भोलिका दिनमा उजागर हुँदै जानेछन् । हामी पनि टिप्णी गरौंला । यो आन्दोलनले केही महत्वपूर्ण सकारात्मक परिणाम भने ल्याएको छ । ती मध्येको एउटा महत्वपूर्ण परिणाम भने २०६२/६३ देखि जनघात र राष्ट्रघात गर्दै देशमा लुटतन्त्र चलाइरहेको तीन दलीय सिण्डिकेट –कांग्रेस, एमाले र माओवादी केन्द्र) लाई राम्ररी दनक दिएको छ । जुनकाम निर्वाचनबाट सम्भवै थिएन । यसले गर्दा यी दलहरु भित्र रुवाबासी, खैलाबैला अन्तरविरोधहरु बाहिरिन थालेका छन् ।
नेतुत्वको प्रश्न अहिले मुखरित हुन थालेको छ । कांग्रेस नेता शेरबहादुर अस्पालमै रहेकोले त्यति प्रष्ट कुरा नआएको भएपनि एमाले र माओवादी केन्द्रका नेताले पद छोड्नु पर्ने आवाज उठ्न थालेको छ । अब यी दुईपार्टी भित्र मुख्यरुपमा चार विचारहरु अगाडी आउनेछन् । पहिलो नेतृत्व यथावत राख्ने, दोस्रो नेतृत्व बदल्ने, तेस्रो विद्रोह गर्ने र चौथो पलायन हुने । यी अन्तरविरोधहरुको व्यवस्थापनले यी दलहरुको भविष्य निर्धारण हुनेछ । एमाले र माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको संभावना निकै कम छ । त्यसैले पलायन त निरन्तर चलिरहेको छ चलिरहन्छ । पलायन हुने समूह भनेको त्यो स्वार्थ समूह हो जहाँ खान पाउँछ त्यतै जान्छ ।
जहाँसम्म कांग्रेसको प्रश्न छ यो विद्रोहको एउटा एजेण्डा कांग्रेसको नेतृत्व परिवर्तन हो । इण्डो अमेरिकी शक्ति केन्द्रको मुख्य भरपर्ने शक्ति भनेको कांग्रेस हो । एमाले माओवादी केन्द्र सहायक हुन् । शेरबहादुर हटाएर पश्चिम युवाको नाममा आफ्नो पक्ष स्थापित गर्न चाहन्छ । दक्षिण शेखरहरु ल्याउन चाहन्छ । यो नेतृत्व निर्माणले अहिले बनेको शक्ति सन्तुलन बदलिने स्थिति बन्दछ । सुशीला सरकार भनेको ओली देउवाको पश्चिमी गठबन्धनलाई भत्काएर इण्डो अमेरिकी संयुक्त गठबन्धनको सरकार हो । अब आउँदा दिनमा आआफ्नो पक्ष निर्माण गर्न दुबै लाग्ने छन् । यसैबाट माओवादी केन्द्र र एमालेको दिशा पनि निर्धारण हुनेछ । अर्थात् कांग्रेसमा इण्डो बलियो भयो भने एमालेमा ओली कमजोर हुनेछन् र कांग्रेसमा अमेरिकी पक्ष बलियो भयो भने माओवादी केन्द्रमा प्रचण्ड कमजोर हुनेछन् । किनकी यी तीनै पार्टीहरु इण्डो पश्चिमी शक्तिकेन्द्रका नजिक छन् । बालेनको भविष्य पनि यसैले निर्धारण गर्दछ ।